सेयर बजारमा ३६ अंकको गिरावट

काठमाडौं । नेप्से परिसूचक बुधबार एकैदिन ३६ दशमलव ७३ अंकले ओरालो लागेको छ । एकैदिन १.५३ प्रतिशतले घटेको नेप्से २३ सय २० अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा सेन्सेटिभ इन्डेक्स ६ दशमलब ६९ अंकले घटेर चार सय ८१ दशमलब ८ अंकमा पुगेको छ ।  मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको हो । नेप्से परिसूचक साताको पहिलो दिन आइतबार र सोमबार पनि ओरालो लागेको थियो ।

मंगलबार नेप्से १३ दशमलब ६७  अंकले बढेर २३ सय ५७ दशमलव २५ अंकमा पुगेको थियो । नेप्सेमा बुधबार ३५ लाख ७० हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा १९९ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । निरन्तर सकारात्मक सर्किट लाग्दै आएको नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार १० प्रतिशतको नकारात्मक सर्किट लागेर घटेको छ ।

नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य  ३०१ रुपैयाँ घटेर दुई हजार ७१० रुपैयाँ पुगेको छ । बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशत बढेर कारोबार भएको छ ।

सर्किट लागेका ग्रीन भेन्चर लिमिटेडको सेयर २९ रुपैया बढेर ३२८ रुपैया पुगेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५८ रुपैयाँ ६४५ रुपैया पुगेको छ ।

नेप्सेमा बुधबार नेस्डो लघुवित्त एनआईसी एसिया सिद्धार्थ बैंक  र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर  सबैभन्दा धेरै कारोबार भएको छ ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media