सय शय्याको बन्दै ख्वप: अस्पताल

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाइ भएकाे छ ।

कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथाशीघ्र सय शय्या क्षमता विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरूले ख्वप: अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीको भावनाअनुसार ख्वप: अस्पतालले कम शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको छ । उनले सबै नागरिकलाई स्वस्थ बनाई उत्पादनमूलक क्रियाकलापमा सक्रिय बनाउन नगरपालिका लागिपरेको बताए ।

उनले सरकारको विभेदकारी नीतिका कारण नगरपालिकाद्वारा संचालित ख्वप बहु-प्राविधिक अध्ययन संस्थानमा यो वर्ष नर्सिङ संकायमा प्रवीणता प्रमाणपत्र तह स्टाफ नर्समा भर्ना लिन नपाएको चर्चा गर्दै सय शय्याको आफ्नै अस्पताल संचालनसँगै नर्सिङमा भर्ना लिन सकिने बताए । ख्वप: अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागि रहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप: अस्पताल भवन निर्माणको प्रगतिबारे जानकारी दिँदै कार्यक्रमको उद्देश्यमाथि चर्चा गरे । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले कोभिड महामारीको समयमा ख्वप: अस्पतालकोतर्फबाट खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल सरकार र बागमति प्रदेश सरकारले अस्पताल संचालनसम्बन्धी तय गरेको मापदण्डको पूर्ण पालना गरी ख्वप: अस्पताल संचालन हुने विश्वास व्यक्त गरे ।

परामर्शदाताका तर्फबाट वातावरणविद् हरिशप्रसाद भट्टले अस्पताल संचालन गर्नु संवेदनशील विषय भएकोले सरोकारवाला सबै पक्षसँग सरसल्लाह गरेर यथार्थपरक प्रतिवेदन तयार गर्ने र सबैका लागि सुरक्षित बनाउन सुझाव पेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बागीश्वरी कलेजका ज्ञानसागर प्रजापति, बागीश्वरी माविका कृष्णप्रसाद धन्छा, ईन्जिनियरिङका विष्णुकुमार प्रजापति, महिला स्वास्थ्य स्वयंसेविका तारादेवी धन्छा, अस्पताल व्यवस्थापक अनु ह्योंमिखा, वातावरणविद् कमलराज गोसाइँलगायतले ख्वप: अस्पताल निर्माण र संचालनको क्रममा आउनसक्ने नकारात्मक वातावरणीय प्रभावको विषयमा चर्चा गर्दै न्यूनिकरण कार्यमा यथासम्भव सबैले ख्वप: अस्पताललाई स्तरीय र सुविधासम्पन्न बनाउन लिखित सुझाव पेश गरे ।


Published :८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media