औषधि उत्पादनमा लगानी बढाउनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा पछिल्लो समय नसर्ने रोगबाट धेरै जनता पीडित बनेको बताइन् ।

‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्कता रहेको छ’, उनले भनिन् । नसर्ने रोगको जोखिम बढिरहेकाले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता भएको उनको भनाइ छ ।

स्वदेशमै उत्पादन हुने औषधिको लागत घटाउन स्वदेशी कच्चा पदार्थलाई नै प्रयोग गरेर कच्चा पदार्थ आयात कम गर्न सकिने उनले बताइन् । देशभित्रै जतिसक्दो धेरै प्रकारका औषधि उत्पादन गर्न सके देशलाई औषधिको क्षेत्रमा पनि आत्मनिर्भर बनाउन सकिने उनले बताइन् । तर, औषधि उत्पादनमा गुणस्तरीयतामा भने ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सकेसम्म धेरै किसिमका औषधी देशभित्रै उत्पादन गर्न सके संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्य सम्बन्धि मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने उनले बताइन् । रोगको उपचार र नियन्त्रणका लागि देशहरुबीच आपसी सहयोग र सद्भाव रहनुपर्ने भन्दै उनले औषधी उत्पादनमा समेत विश्वका देशहरुबीच सहयोग अभिबृद्धि हुनुपर्ने बताइन् ।


Published :९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media