भारतको असममा भीषण बाढी, ९७ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

साउन २२, २०८३

काठमाडौ‌ं । भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ । वर्षौंयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ ।

बाढीका कारण हजारौँ मानिस घर छाडेर अस्थायी आश्रयस्थलमा जान बाध्य भएका छन् । सरकारी विवरणअनुसार बाढीको पानीले १४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली डुबाएको छ । यो क्षेत्रफल फ्रान्सको राजधानी पेरिसको क्षेत्रफलभन्दा करिब डेढ गुणा ठूलो हो ।

सबैभन्दा बढी प्रभावित शिवसागर जिल्लामा घरहरू आधा डुबेका, ठूला रुख उखेलिएका तथा सवारीसाधन माटो र बाढीको पानीमा पुरिएका दृश्य देखिएको एएफपीका पत्रकारले बताएका छन् । कतिपय बस्तीमा बाढीको पानीले आवागमनसमेत अवरुद्ध पारेको छ ।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीको पानीबाट आफ्नो पाल्तु कुकुरलाई बचाउने प्रयास गर्दा ज्यान गुमाएका १३ वर्षीय बालकका परिवारलाई समवेदना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई बिदाइ गर्नुपर्ने अवस्था आउन नहुने बताए ।

भारतका स्वास्थ्यमन्त्री जेपी नड्डाले बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपत्तिको क्षति निकै ठूलो रहेको र सामान्य अवस्था फर्किन समय लाग्ने बताए । उनले बाढीका कारण गाउँका गाउँ डुबानमा परेको उल्लेख गरे ।

भारतको उत्तरपूर्वी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनका समयमा बाढी आउनु सामान्य मानिन्छ । असममा भारतको प्रमुख नदी ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको सतह बढ्दा प्रत्येक वर्ष बाढीको समस्या दोहोरिने गरेको छ ।

तर विज्ञहरूका अनुसार पछिल्ला वर्षमा बाढीको आवृत्ति र प्रभाव बढ्नुमा जलवायु परिवर्तनसँगै अव्यवस्थित तथा कमजोर पूर्वाधार विकास पनि जिम्मेवार छन् । नदीको प्राकृतिक बहावमा हुने परिवर्तन, वन विनाश तथा बस्ती विस्तारले जोखिम थप बढाएको उनीहरूको भनाइ छ ।

स्थानीय बासिन्दा र अधिकारीहरूले छिमेकी राज्य नागाल्यान्डमा भइरहेको अवैध कोइला खानीका कारण पनि बाढीको अवस्था थप गम्भीर बनेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यसले यसअघि बाढीको जोखिम तुलनात्मक रूपमा कम रहेका क्षेत्रसमेत प्रभावित भएका छन् । मुख्यमन्त्री शर्माले यस विषयलाई भारतको केन्द्र सरकारसमक्ष उठाउने बताएका छन् ।

जलवायु तथा वातावरणसम्बन्धी वकालत गर्ने संस्था क्लाइमेट ट्रेन्ड्सले असममा बाढीको बढ्दो गम्भीरता विश्वव्यापी तापक्रम वृद्धि, नदीको बदलिँदो प्रकृति र बढ्दो मानवीय जोखिमबीचको अन्तरसम्बन्धबाट उत्पन्न भएको जनाएको छ । संस्थाका अनुसार यी कारणले बाढीलाई अझ बारम्बार, जटिल र आर्थिक रूपमा महँगो विपत्तिमा परिणत गरिरहेका छन् ।

असममा राहत तथा उद्धार कार्य जारी रहे पनि ठूलो सङ्ख्यामा मानिस विस्थापित भएकाले प्रभावित समुदायको पुनःस्थापना र कृषि क्षेत्रमा भएको क्षति व्यवस्थापन प्रमुख चुनौती बनेको छ । रासस


Published :साउन २२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media