यी हुन् एमालेको स्थानीय चुनावलक्षित घोषणापत्रका विशेषताहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्दै आज प्रतिबद्धतासहितको चुनावी घोषणापत्र एमालेले सार्वजनिक गरेको हो । एमालेले आज जारी गरेको घोषणापत्रका केही महत्वपूर्ण विशेषताहरु यहाँ उल्लेख गरिएको छ ।

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गा एकीकरण प्रणालीलाई प्रवर्द्धन गर्ने 

एमालेले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गा एकीकरण प्रणालीलाई प्रवर्द्धन गर्ने भएको छ । ‘अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने । यसका लागि सार्वजनिक–निजी साझेदारी ढाँचा अवलम्बन गर्ने । जग्गा एकीकरण प्रणाली (ल्याण्ड पुलिङ) लाई प्रवर्द्धन गर्ने । नयाँ, आधुनिक र हरित सहरको विकासका लागि व्यवस्थित योजना तर्जुमा र कार्यान्वयन गर्ने,’ घोषणापत्रमा एमालेले भनेको छ ।

प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिबद्धता एमालेले गरेको छ ।

जोखिममुक्त आवास र बस्ती निर्माणका लागि राष्ट्रिय भवन संहिता तथा बस्ती विकास सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

‘सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन गर्ने । सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेहरूमाथि कानूनी कारबाही गर्दै त्यस्ता जमिन सार्वजनिक स्वामित्वमा ल्याउने,’ घोषणापत्रमा भनिएको छ ।

व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने

व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत् आवश्यक जमिन उपलब्ध गराउने प्रतिबद्धता एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ । ‘भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने । कृषियोग्य जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘व्यावसायिक खेती गर्न चाहनेहरूलाई भूमि बैंकमार्फत् आवश्यक जमिन उपलब्ध गराउने । लिज, करार र सहकारीमार्फत् खेती गर्न त्यस्ता जमिनका सन्दर्भमा आवश्यक कानूनी प्रबन्ध र राज्यको सुरक्षा प्रत्याभूति गर्ने ।’

सिंचाइको विस्तार, कृषि–भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने प्रतिबद्धता पनि एमालेले जनाएको छ ।

जीवनको आधारका रुपमा रहेको खाद्य पदार्थ उत्पादन गर्ने कृषि क्षेत्रलाई उच्च महत्व दिएर लगानी अभिवृद्धि गर्ने र मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य पनि घोषणापत्रमा राखिएको छ ।

‘उन्नत जातको बिउ, आधुनिक प्रविधि, कृषि तथा पशुसेवासबन्धी प्राविधिक जनशक्ति उपलब्ध गराई कृषिको उत्पादकत्व वृद्धि गर्ने । उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्ने, कृषि विमा, कृषि कर्जा, कृषि उपजको समर्थन मूल्य निर्धारण, अनुदान जस्ता कदम मार्फत किसानको लगानीको सुरक्षा गर्ने । कृषिलाई लाभदायी पेशा बनाउँदै किसानहरूको बचत सुनिश्चित गर्ने,’ घोषणापत्रमा भनिएको छ ।

प्रत्येक पालिकाको पहिचान स्थापित गर्नेगरी विशेष खाद्यबाली, फलफूल, पुष्पखेती, नगदेबाली, पशुपन्छी, चराचुरुङ्गी वा जलचरको विकास गर्ने पनि एमालेले जनाएको छ ।

‘कृषि सहकारीहरूका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने । उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै बिचौलियाको वर्चस्व अन्त्य गर्ने,’ घोषणापत्रमा उल्लेख छ, ‘जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट किसानहरूलाई संरक्षण गर्न सूचना प्रणाली, नयाँप्रविधिको विकास र क्षमता अभिवृद्धि गर्ने ।’

प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार

एमालेले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिएको छ ।

‘गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवन उपयोगी बनाउने,’ घोषणापत्रमा एमालेले भनेको छ, ‘विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकासलगायत आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहँुच पु-याउने ।’

बीचैमा पढाइ छाड्ने समस्याको समाधान गर्ने र विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।

विपद्का कारण विद्यालय जानबाट वञ्चित बालबालिकाहरूका लागि विशेष व्यवस्था गर्ने, पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, प्रौढ तथा अभिभावक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, जीवन पर्यन्त सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी कार्य सञ्चालन गर्ने प्रतिबद्धता एमालेले जनाएको छ ।

‘पुस्तकालय स्थापना गर्ने, सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रतिष्पर्धी र सहज पहुँचभित्र पु-याउन पर्याप्त कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, आवश्यक जनशक्ति, तालिम, खेलकुद मैदान, विद्यालय यातायात सुविधा सुनिश्चित गर्ने पनि घोषणापत्रमा जनाइएको छ ।

‘बालिकामैत्री शौचालयको व्यवस्था, स्यानिटरी प्याडको नियमित र भरपर्दाे वितरण, बालिका छात्रवृत्ति, विद्यालय नर्स सेवा कार्यक्रमलाई निरन्तरता दिई विस्तार गर्ने, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्री जस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने,’ घोषणापत्रमा लेखिएको छ ।

प्रत्येक पालिकामा कम्तीमा एउटा प्राविधिक माध्यमिक विद्यालय स्थापना गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

‘माध्यमिक शिक्षालाई क्रमशः निशुल्क र अनिवार्य बनाउने, सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमै पढ्ने वातावरण निर्माण गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।

सबैभन्दा योग्यलाई शिक्षण पेशामा आकर्षित गर्न आवश्यक नीति र योजना तरजुमा गर्ने पनि एमालेले जनाएको छ ।

एक घर एक धाराअभियान सुरु गर्ने, दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपान पु-याउने 

एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गरी आगामी दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी पु-याउने जनाएको छ ।

‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्थामार्फत् सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘एक घर एक धारा अभियानअन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने ।’

खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुने गरी उपयुक्त संयन्त्र निर्माण गर्ने, ठूला खानेपानी आयोजना सङ्घ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ ।

रेल, ठूला सहरमा रेललगायतका यातायात प्रणालीको विकास गर्ने

एमालेले सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवाको विकास गर्ने जनाएको छ ।

‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस -यापिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्नेे,’ घोषणापत्रमा एमालेले लेखेको छ ।

अघिल्ला स्थानीय, संघ र प्रदेशको चुनावमा पनि एमालेले घोषणापत्रमा रेल र जल यातायात सेवालाई उच्च प्राथमिकता दिएको थियो । तर दुवै कुरा उसले पुरा गर्न सकेको थिएन । यसपटक सार्वजनिक गरेको घोषणापत्रमा पनि एमालेले रेल र जल यातायात दुवै सेवालाई प्राथमिकतामा राखेको छ ।

घोषणापत्रमा एमालेले सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने जनाएको छ ।

सडक, हवाई, जल, केबुलकार र रोपवे, दुरसञ्चारलगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने दाबी घोषणापत्रमा गरिएको छ ।

घरायसी प्रयोगक लागि विपन्न परिवारलाई विद्युत निशुल्क 

नेकपा एमालेले विपन्न परिवारलाई घरायसी प्रयोगका लागि विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत निःशुल्क उपलव्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख छ ।

विद्युत उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय बृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ ।

‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्ने गरी आवश्यक कानूनी र संरचनात्मक प्रबन्ध गर्ने । नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने,’ घोषणापत्रमा भनिएको छ ।

पालिकामा सञ्चालित जलविद्युत् आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने पनि एमालेले जनाएको छ ।


Published :९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media