रोड रेसको उपाधि मुकेश र सन्तोषीलाई

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौं । मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठले तेस्रो मदन भण्डारी स्मृति पाँच किलोमिटर रोड रेसको खुलातर्फको उपाधि जितेका छन् ।

शनिबार आयोजित रेसको पुरुषतर्फ मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोस्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेस्रो भए ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् ।  १३औँ सागकै रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४.४३ सेकेन्ड) ले कास्य जिते ।

खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र आठ हजार नगद पुरस्कार प्राप्त गरे । रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए ।

उनको टाइमिङ १७ मिनेट ०९.०७ सेकेन्ड रह्यो । ईश्वरचन्द्र बस्नेत (१७ मिनेट २३.१६ सेकेन्ड) दोस्रो तथा विकेश घिमिरे (१७ मिनेट २८.०८ सेकेन्ड) तेस्रो बने ।

छात्रामा निर्धारित लक्ष्य २० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै सरस्वती बोहरा शीर्ष स्थानमा रहिन् । सोनु घतानी (२१ मिनेट ५६.३० सेकेन्ड) दोस्रो तथा अन्जु खड्का (२२ मिनेट ५८ सेकेन्ड) तेस्रो भए ।

छात्रछात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार नगद पुरस्कार पाए । दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडमा दुई सय ५० प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ ।

विजेतालाई पूर्वमन्त्री एवं नेकपा एमालेका नेता भानुभक्त ढकाल, नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत, रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले पुरस्कृत गरे । सो अवसरमा पूर्वधावक ओलम्पियन मुकुन्दहरि श्रेष्ठ र करातेका ओमकृष्ण प्रसाइँलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media