अघोषित लोडसेडिङले मारमा उद्योगी-व्यवसायी

राष्ट्रपाटी न्युज

१५ बैशाख २०७९

भैरहवा । कोभिडले थला परेको उद्योग-व्यवसाय विस्तारै चलायमान हुन थाले पनि अघाेषित लाेडसेडिङकाे मारमा उद्योगी व्यवसायी परेका छन् ।

अघोषित रुपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका दर्जन बढी उद्योगकाे उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् । विद्युत् अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायी मात्रै होइन सर्वसाधारण पनि सहज ढंगले काम गर्न पाएका छैनन् । अत्यधिक गर्मीबीच अघोषित रुपमा भइरहेको लोडसेटिङले आमनागरिकको जीवन पनि कष्टकर बन्दै गएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्योगमा एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रुपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको बताए ।

दिनको समयमा पनि पटक-पटकको ट्रिपिङ, लो भोल्टेजको कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको उनले बताए । ‘घण्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ बीचमै विद्युत गएर ती वस्तु उत्पादन नभई फाल्नुपर्ने हुन्छ जसले लागत पनि बढेको  छ, ‘ अध्यक्ष न्यौपानेले भने । नेपाल  विद्युत् प्राधिकरण बुटवल ग्रीड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएकाे उनले बताए ।

रुपन्देहीका ३३ केभीए विद्युतबाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको संघका एशोसियट सदस्य विकास गोयन्काले बताए । यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति ठप्प हुने गरेकाे छ ।

विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले विद्युत् आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताए । ‘आएको विद्युत् वितरण गर्ने हो, उद्योगको मागअनुसारको आपूर्ति नभएकोले विद्युत् अनियमित हुने गरेको छ यो अघोषित लाेडसेडिङ होइन,’ उनले भने ।


Published :१५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media