गगन थापालाई ‘ट्युसन’ पढाउन सक्छुः कर्ण मल्ल

राष्ट्रपाटी न्युज

१५ बैशाख २०७९

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउन सक्ने बताएका छन् । बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बिपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउन सक्ने बताएका हुन्।

उनले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो अर्थात घोषणापत्र नै नभएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए ।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु,’ मल्लले भने ।

उनले बिपीले स्थापना गरेको मेनिफेस्टो र अहिलेको मेनिफेस्टो मिल्छ? भनेर थापालाई ट्युसन पढाउन र बहस गर्न सक्ने दाबी गरे ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए ।

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो ।


Published :१५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media