धर्मश्री विजेताले अबदेखि १० लाख पुरस्कार पाउने

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

काठमाडौं । खेलकुद क्षेत्रमा नेपालकै सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औँ धर्मश्रीका लागि काठमाडाैं महानगरपालिकाले प्रायोजन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल ब्यायाम मन्दिरले काठमाडाैं महानगरपालिकाले धर्मश्रीका लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो ।

२३ र २४ वैशाखमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएकाे छ ।

१६औँ धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्नेछन् । खेलकुद क्षेत्रमा व्यक्तिगत विधातर्फ यो नै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । यसअघिको संस्करणमा विजेताको पुरस्कार राशि पाँच लाख रहेको थियो ।

२०१० सालमा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आएकाे छ ।

पहिलो र दोश्रो संस्करणमा तौल समूहको मात्र प्रतियोगिता गर्दै आईरहेकोमा तेश्रो संस्करण २०५० सालबाट प्रत्येक तौल समूहका विजयी खेलाडीको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्मश्री विजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।

२०५० सालमा पहिलो पटक रविनसन शाक्यले धर्मश्रीको उपाधि हात पारेको थिए । २०५३ मा सागर ताम्राकार, २०५४ मा लाल बहादुर गुरुङ्ग, २०५५ मा जीवन गिरी, २०५७ र २०५९ मा नरेश महर्जन, २०५८ मा हरिष श्रेष्ठ, २०५९ मा नरेश महर्जन, २०६२ र ६४ मा सानु गुरुङ्ग, २०६८ मा लोकेन्द्र परियार, २०७१ मा महेश्वर महर्जन, २०७३ सालमा अर्जुन वर्णवाल र २०७५ सालमा मिलन सिजापतीले धर्मश्रीको ताज पहिरिसकेका छन् ।

शारीरिक सुगंठनको इतिहासमै अति नै प्रतिष्ठित प्रतियोगिता धर्मश्रीमा १६औँ संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिधा थपिएकाे हाे ।

२३ र २४ वैशाख २०७९ मा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ २३ वैशाखमा हुनेछ । फाइनल चरणका खेल २४ वैशाख मा हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा चार सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक बिधामा प्रथम हुने खेलाडीहरूको बीचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिनेछ । प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी, प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौ‌ंले एक लाख, छैटौँले ९० हजार र सातौँ हुनेले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media