निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २३ वेब पोर्टलमाथि कारबाही

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७९

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारबाही गरेको छ ।

उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारबाही गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारबाही गरेको हो ।

दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारबाही गरिएको आयोगले बताएको छ ।

आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ ।

यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई गम्भीर बन्न निर्देशन दिइएको छ ।

आठवटा मिडियालाई लिखितरुपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार माध्यमलाई लिखितरुपमा आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।


Published :२५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media