काठमाडौं । स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए ।
महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए । गठबन्धनमा सत्तामा सहभागी नभएको राष्ट्रिय जनमोर्चा पनि सहभागी थियो ।
गठबन्धनमा रहेका दलमध्ये कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख, माओवादीलाई भरतपुर महानगरपालिकाको प्रमुख, एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको प्रमुख र जसपालाई वीरगन्ज महानगरपालिकाको प्रमुख भाग लगाइएको थियो ।
यस्तै, कांग्रेसको भागमा वीरगन्ज, पोखरा र भरतपुरको उपप्रमुख, माओवादीको भागमा ललितपुरको उपप्रमुख, एकीकृत समाजवादीको भागमा काठमाडौंको उपप्रमुख र जसपाको भागमा विराटनगरको उपप्रमुख परेको थियो ।
गठबन्धनले सहमतिअनुसार उम्मेदवारी दिए र गत वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ । अहिले निर्वाचनको परिणामहरू आउन थालेको छ ।
हालसम्मको मतगणनाले गठबन्धन गरी उम्मेदवारी दिइएको महानगरपालिकाहरूमा गठबन्धनका दलहरू एकआपसमा इमान्दार नभएको देखाएको छ । हरेक महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका दुई भिन्न दलका उम्मेदवार रहेका थिए तर उनीहरूले प्राप्त गरेको मतमा भने निकै ठूलो अन्तर देखिएको छ ।
काठमाडौं महानगरपालिकामा कांग्रेसले प्रमुखमा सिर्जना श्रेष्ठ र एकीकृत समाजवादीले उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार सिर्जनाले ५ हजार ११४ मत प्राप्त गरेकी छन् भने रामेश्वरले ३ हजार ४८ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा समान मत गणना हुँदा सिर्जनको भन्दा रामेश्वरले २ हजार ६६ कम मत प्राप्त गरेका छन् ।
ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसले चिरीबाबु महर्जन र उपप्रमुखमा माओवादीले बाबुराजा बज्राचार्यलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार चिरीबाबुले ७ हजार २१७ मत र बाबुराजाले २ हजार २९२ मत प्राप्त गरेका छन् ।
ललितपुर महानगरपालिकामा समान मतगणना हुँदा चिरीबाबुले भन्दा बाबुराजाले ४ हजार ९२५ कम मत प्राप्त गरेको देखिन्छ ।
पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीले धनराज आचार्य र उपप्रमुखमा कांग्रेसले कोपिला रानाभाटलाई उम्मेदवार बनाएको थियो । हालसम्मको मतगणनाअनुसार धनराजले ९ हजार १६५ र कोपिलाले ९ हजार ४६१ मत प्राप्त गरेका छन् ।
पोखरा महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार कोपिलाले भन्दा प्रमुखका उम्मेदवार धनराजले २९६ मत प्राप्त गरेका छन् । अन्य महानगरपालिकाको तुलनामा पोखरामा प्रमुख र उपप्रमुखले प्राप्त गरेको मत भिन्नता भने निकै साँघुरो रहेको छ ।
भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीले रेनु दाहाल र उपप्रमुखमा कांग्रेसले चित्रसेन अधिकारीलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार रेनुले ६ हजार २०२ र चित्रसेनले ७ हजार ५५८ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा समान मतगणना हुँदा चित्रसेनको भन्दा रेनुले १ हजार ३५६ कम मत प्राप्त गरेकी छन् ।
विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसले नागेश कोइराला र उपप्रमुखमा जसपाले अमरेन्द्र यादवलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार नागेशले ९ हजार र अमरेन्द्रले ४ हजार ८४४ मत प्राप्त गरेका छन् ।
विराटनगर महानगरपालिकामा समान मतगणना हुँदा नागेशको भन्दा अमरेन्द्रले ४ हजार १५६ कम मत प्राप्त गरेका छन् । अमरेन्द्रले भन्दा नागेशले झण्डै दुई गुना बढी मत ल्याएका छन् ।
वीरगन्ज महानगरपालिकाको प्रमुखमा जसपाले राजेशमान सिंह र उपप्रमुखमा कांग्रेसले इम्तियाज आलमलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार राजेशमानले ८ हजार १३१ र इम्तियाजले ५ हजार ४२३ मत प्राप्त गरेका छन् ।
वीरगन्ज महानगरपालिकामा समान मतगणना हुँदा राजेशमानकोभन्दा इम्तियाजले २ हजार ७०८ कम मत प्राप्त गरेका छन् ।