काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शब्द वाणले घोचेको घाउ कहिल्यै निको नहुने बताएका छन् । राजधानीमा आयोजित मीना श्रेष्ठको कविताकृति ‘फर्गेट स्टडे’ लोकार्पण समारोहमा बोल्दै उनले शब्द वाणले घोचेको घाउमा ‘फर्गेट एस्टर्डे’ लागू नहुने बताए ।
अध्यक्ष ओलीले भालाले भन्दा साह्रो शब्दले घोच्ने बताए । उनले भने,‘शब्द आफैंमा तागत हुँदैन। प्रस्तुति कस्तो हुन्छ ? त्यसको प्रयोग कस्तो हुन्छ ? शब्द वाण पनि हुन्छ, शब्द मलम पनि हुन्छ । शब्द वाणमात्रै होइन अग्नि वाण पनि हुन्छ । भालाले भन्दा साह्रो शब्दले घोच्छ। भाला तिखो छ भने उपचार गर्दा निको होला तर शब्द वाणले घोचेको कहिल्यै निको हुँदैन । अरु कुराका लागि लागू होला शब्द वाणले घोचेको घाउमा फर्गेट एस्टर्डे लागू हुँदैन । शब्द मन्त्र हो । शब्द ज्ञान हो। शब्द संकेत हो । शब्द इशारा हो । शब्द विग्रह हो।’
एक फरक प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा बनाइएका भ्युटावर इतिहास भएको बताएका छन् । उनले भ्युटावरको विरोध गर्नेहरुले इतिहास बिर्सेको टिप्पणी गरे । उनले ‘इफेल टावर र वासिङटन टावर’ बनाउनेहरु बुद्धि नभएकै हुन् त ? भनेर आलोचकहरुतर्फ प्रश्न तेर्स्याए ।
अध्यक्ष ओलीले भने, ‘एउटा पार्टीले आफ्नो घोषणापत्रमै भन्यो– भ्युटावर बनाउँदिन, भ्युटावर बनाउने काम छैन । इफेल भन्ने इन्जिनियर जसले इफेल टावर बनाए । बुद्धि नभएका रहेछन् कि के हो ?’
इफेल टावर फ्रान्सको प्रतिक भएको भन्दै उनले जुन फ्रान्सका लागि अरबौँ आम्दानीको स्रोत भएको बताए । उनले अगाडि भने- ‘त्यो भ्युटावर भन्दा अरु केही होइन, टुप्पामा धान फल्दैन । कोदो पनि फल्दैन, अलिक तल मकै फल्दैन । आँप लिची पनि फल्दैन, पैसामात्रै फल्छ भ्युटावरमा ।’
अध्यक्ष ओलीले टावरहरूमा इतिहास र हाम्रो उचाइ हुने जिकिर गरे । उनले ‘इतिहासभित्र हाम्रो ऐतिहासिक उचाइ हुने बताए । त्यसैले हाम्रो इतिहास कसैले पनि भुल्न र मेटाउन नसक्ने भनाइ उनको थियो ।