पुनर्वासको मेयर-उपमेयर दुवैमा कांग्रेस विजयी

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका तोयराज शर्मा विजयी भएका हुन् । उनले १० हजार ६ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेका पदमबहादुर पुजाराले ४ हजार ६७६ मत मात्रै ल्याउन सके ।

यस्तै, नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका एकीकृत समाजवादीका जीवनराज थापा ३ हजार ७३४ मतमै सीमित बने । पुनर्वास नगरपालिकाको निवर्तमान मेयर समेत रहेका थापा नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्ष पनि हुन् ।

उपमेयरमा नेपाली कांग्रेसकी भुलिया राना ७ हजार ३४५ मत ल्याउँदै विजयी भएकी छन् ।

उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ५ हजार ४९२ मत पाउँदा एमालेकी सुशिला खत्रीले ५ हजार ३०३ मत ल्याइन् ।

पुनर्वासमा कांग्रेसका मेयर शर्मा र उपमेयर राना दोस्रो प्रयासमा सफल भएका हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा दुवै जना नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।


Published :९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media