यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्यका एक कर्मचारी निलम्बित

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०७९

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बित भएका छन् । उनलाई यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बन गरिएको हो ।

इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको छ । इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको प्रमाण फेला परेपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताएका छन् ।

सचिव ज्ञवालीका अनुसार यस विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । ‘झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ,’ ज्ञवालीले  भने,’ ‘यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।’


Published :१२ जेष्ठ २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media