फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसी

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक कमिटीले यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।

आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि एन्फाले केसीलाई टिमको जिम्मेबारी दिने निर्णय गरेको हो । एन्फाले केसीलाई प्रशिक्षक नियुक्ति गर्ने निर्णय मंगलबार नै गरेको हो ।

केसीले सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि छिट्टै प्रशिक्षण सुरु गर्ने बताएका थिए । एन्फाले यू–२० फुटबल खेलाडी छनोटका लागि जेठ २० गतेको सूचना जारी गरेको थियो ।

सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने छनोट प्रतियोगितामा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

१० वटा समूहमा विभाजन गरी छनोट प्रतियोगिता सन्चालन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टिम र उत्कृष्ट उपविजेतामध्येबाट ५ टिमले उज्वेकिस्तानमा सन् २०२३ मा हुने यू–२० एसियन कप खेल्नेछन् ।

मेघराज केसी नेपालको युथ फुटबलमा अनुभवी प्रशिक्षक हुन् ।

उनले यसअघि उमेरसमूहका सबैजसो राष्ट्रिय टोली प्रशिक्षण गरिसकेका छन् ।


Published :१२ जेष्ठ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media