मतपत्रको सम्मान गर्ने अपेक्षासहित बालेनलाई स्थापित दिए बधाई

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०७९

काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान बालेनलाई मेयरमा विजयी भएको घोषणा गरेपछि स्थापितले बधाई दिँदै आफूलाई अवसर दिने एमालेप्रति आभार व्यक्त गरेका छन् ।
‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ‌ पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ,’ शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थापितले भनेका छन् ।

पाँचवर्षे कार्यकालमा बालेनको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्ने अपेक्षा पनि लिएको स्थापितले बताएका छन् । ‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन । निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु,’ स्थापितले विज्ञप्‍तिमा भनेका छन् ।


Published :१३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media