तारा एयरको विमान सम्पर्कविहीन, खोजविन सुरु

राष्ट्रपाटी न्युज

१५ जेष्ठ २०७९

काठमाडौं । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

१९ यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भए पनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।


Published :१५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media