आज २५७०औँ बुद्धजयन्ती मनाइँदै, सार्वजनिक बिदा

राष्ट्रपाटी न्युज

बैशाख १८, २०८३

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज(शुक्रबार) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । भगवान् गौतम बुद्धको २५७०औँ जयन्तीका अवसरमा शान्तिको कामना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना वैशाख शुक्ल पूर्णिमामै परेकाले यस दिन विशेष महत्त्वका साथ मनाइन्छ । नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा र विहारहरूमा पूजाआजा, ध्यान र प्रवचन कार्यक्रम गर्दै बुद्धप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ ।

लुम्बिनी, स्वयम्भू र बौद्ध क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएका छन् । यी स्थलहरूमा लामा तथा बौद्ध धर्मगुरुद्वारा पूजाआजा र धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन् ।

इतिहासअनुसार, ईशापूर्व ५६३ मा कपिलवस्तुस्थित लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । मानव दुःखबाट व्यथित भई उहाँ २९ वर्षको उमेरमा दरबार त्याग गरी सत्यको खोजीमा लाग्नुभएको थियो । पछि बोधगयामा बोधिवृक्ष मुनि तपस्या गरी बुद्धत्व प्राप्त गरेका थिए ।

बुद्धले जीवनका दुःखको कारण तृष्णा भएको र यसको अन्त्यका लागि निर्वाण प्राप्त गर्नुपर्ने शिक्षा दिएका छन् । उनले आर्य अष्टांगिक मार्ग र पञ्चशीलमार्फत नैतिक जीवन र आत्म अनुशासनको मार्ग देखाएका छन् । अष्टांगिक मार्गमा सम्यक दृष्टि, संकल्प, वचन, कर्म, जीविका, व्यायाम, स्मृति र समाधि समावेश छन् भने पञ्चशीलमा अहिंसा, सत्यवादिता, अस्तेय, ब्रह्मचर्य र मद्य त्यागका सिद्धान्त रहेका छन् ।

बुद्धका शान्ति, करुणा र प्रज्ञाका सन्देशका कारण उनलाई ‘एसियाका तारा’का रूपमा सम्मान गरिन्छ । हिन्दू धर्ममा समेत बुद्धलाई भगवान् विष्णुको नवौँ अवतार मानिने भएकाले हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले यस पर्व मनाउने गर्दछन् ।

नेपालमा विसं २००८ देखि बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा दिइँदै आएको छ भने संयुक्त राष्ट्रसंघले सन् २००२ देखि यस दिनलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिँदै आएको छ ।


Published :बैशाख १८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media