काठमाडौं । बिगत लामो समय देखि काठमाडौ जिल्ला क्षेत्र नम्बर ४ मा गगन थापा नेपाली काङ्ग्रेसको तर्फबाट बिजय हुँदै आइरहेका छन् । काङ्ग्रेस भित्र बिद्रोही नेताको छवि बनाए देखी नै यस क्षेत्रमा बिजय हासिल गर्न शुरु गरेका उनले अहिले नेपाली काङ्ग्रेसको महामन्त्री हुँदै गर्दा समेत यस क्षेत्रबाट नै चुनाव लड्ने र सजिलै जित्ने आकलन गरिदै आइएको छ। काठमाडौ जिल्ला क्षेत्र नम्बर ४ भन्ने बित्तिकै त्यो त गगनको क्षेत्र हो भन्ने आम मानसिकता बनेको बेला भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन र त्यसको परिणामले यस क्षेत्रमा सबैले एकपटक ठन्डा दिमागले फेरि सोच्ने वातावरण भने अवश्य सिर्जना गरेको छ।
संविधानसभाको निर्वाचनमा नेकपा एमालेका निर्मल कुइकेल र नेकपा माओवादीका नन्दकिशोर पुनलाई हराएर यस क्षेत्रबाट निर्वाचित भएका थापा अर्को आम निर्वाचनमा एमालेका डा राजन भट्टराईलाई हराउन सफल भए । नेकपा एमाले र नेकपा माओवादीको गठबन्धन बीचपनि उनले आफ्नो बिजयलाई कायम राख्दै क्षेत्र नम्बर ४ मा आफ्नो शसक्त उपस्थिति देखाए ।
निर्वाचन सम्पन्न भएको चार बर्ष बितिसकेको छ ।स्थानीय तह निर्वाचन सम्पन्न भएपछि अब देशको सम्पुर्ण ध्यान बिस्तारै संघीय एबम प्रदेश निर्वाचन तर्फ मोडिएको छ। स्थानीय निर्वाचनले दिएका विभिन्न मत परिणामहरुलाई विश्लेषण गरेर आगामी संघीय एबम प्रदेश निर्वाचनको परिणामको आकलन गर्न थालिएको छ। यसै सन्दर्भमा क्षेत्र नम्बर ४ मा गगन थापा बलियो मानिएपनी केहि महत्त्वपूर्ण कारणले उनी कमजोर बन्दै गएको बुझ्न सकिन्छ ।
१. बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा नेपाली काङ्ग्रेसको पराजय
क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिकाका सबै वडामा काङ्ग्रेसले वडाध्यक्ष हारेको छ। नेपाली काङ्ग्रेसले निश्चित जित्छ भन्दै प्रचार गरिएको भएपनि केही वडामा काङ्ग्रेसले सदस्यमा चित्त बुझाउन बाध्य भएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ ,१० र १२ मा नेपाली काङ्ग्रेसले सोचेको भन्दा व्यापक मत कम आएको छ भने उक्त वडाहरुमा एमालेले शानदार मतले जितेको छ।
२. नगर प्रमुखको टिकट वितरणमा गगनको निर्णय
बूढानीलकण्ठ नगरपालिकाको मेयरमा गगन थापाले आफ्नै सहपाठी मित्र बिनोद चालिसेलाई अन्तिम समयमा टिकट दिएपछि काङ्ग्रेस भित्र खैलाबैला नै चल्यो । काम गर्ने कालू मकै खाने भालु भन्ने उक्ति चरितार्थ भएको आरोप लगाउदै एकथरी काङ्ग्रेसिहरुले आफ्नो सदस्यता त्यागेको घोषणा समेत गरे । निर्वाचनको दौरानमा बिषयहरु मिल्दै गएको भनिएपनी निर्वाचन परिणाम भने त्यस्तो देखिएन । आफ्नै वडा तथा कपन क्षेत्रबाट समेत नेपाली काङ्ग्रेसको उत्साहजनक भोट आउन सकेन । निर्वाचन परिणामले काङ्ग्रेस भित्रको असन्तुष्टि छताछुल्ल पारिदियो।
३. नगर प्रमुख मिठाराम अधिकारि डा भट्टराई निकट मानिनु
स्थानीय तहको निर्वाचन अगाडि बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखको टिकट कस्ले पाउने भन्ने रस्सा कस्सीको बीचमा तत्कालीन नगर प्रमुख उद्दव खरेलको नै पल्ला भारी रहेको चर्चा चल्ने गर्थ्यो । उनको व्याक्तिबादी प्रवृती , छुच्चो मुख र केन्द्रिय नेतृत्वसंग समन्वयको अभावको कारण टिकट गुमेको चर्चा समेत यदाकदा चल्ने गर्छ । त्यो संगै डा राजन भट्टराईसङ्ग समेत उनको सामीप्यता नभएपछि हालका नगर प्रमुख मिठाराम अधिकारीलाई टिकट दिलाउन डा भट्टराई लगायतका नेताहरू बालकोटसम्म पुगेको घटनाका कारण अहिले बूढानीलकण्ठ नगरपालिकाको नेतृत्व समेत गगन थापाका लागि ठुलो टाउको दुखाइको बिषय बन्ने निश्चित नै छ। आगामी निर्वाचनमा भर्खरै बूढानीलकण्ठको मेयरमा निर्वाचित अधिकारि जोडदारका साथ लागेमा गगनको आधारक्षेत्र हल्लिने अवस्था बनेको स्वयं काङ्ग्रेसिहरु विश्लेषण गर्ने गर्छन् ।
४. कपन डुवान समस्या
बर्शौ देखी कपन क्षेत्रका जनताको सबैभन्दा ठुलो समस्याको रूपमा रहेको कपन डुबान समस्या समाधान हुन नसक्नु गगन थापाको लागि अर्को महत्त्वपूर्ण चुनौती बनेको छ । स्थानीय तहको मात्र बुताले समाधान गर्न नसकिने भनी सबैले बुझिसकेको यो समस्या अहिले बर्खाको समयमा कपनबासीले भोगिरहेका छन। आकाशमा बादल देख्नासाथ हातमा जुत्ता बोकेर हिड्न बानी परिसकेका पीडितहरु घरमा प्रत्येक बर्ष हुने डुबानले आजित छन् । भर्खरै शुरु भएको कल्भर्ट निर्माणकार्य समेत अत्याधिक ढिला हुनु र त्यसको योजना पार्ने काम समेत एमाले नेता डा राजन भट्टराईले गरेको नेकपा एमालेले दावी गर्दै गर्दा गगन थापाका लागी कपन बाढी समस्या समेत फलामको चिउरा चपाउनु जस्तै जटिल बन्दै गएको छ।
५.केन्द्रमा गगनको चर्चा, क्षेत्रमा बत्ती मुनि अँध्यारो जस्तै ।
साम्सद एबम अन्य केन्द्रिय फोरमहरुमा सदैब चर्चामा रहिरहने गगन थापालाई टेलिभिजनमा जनताले हेर्दा खुसी मानेपनी स्थानीयरूपमा भने व्यापक असन्तुष्टि समेत देख्न सकिन्छ। नेपाली काङ्ग्रेस भित्र नै एक थरी नेतृत्वले सदैव गगन थापाले कुरा मात्र मिठो गर्ने गरेको तर नेतृत्व चयन लगाएतमा भने सहि भुमिका निर्बाह गर्न नसकेको भन्दै आलोचना गर्ने गरेको छ। स्थानीयबासिका समस्या समाधान तथा दैनिक जिवनसंग जोडिएका बिषयहरुमा गगन थापाले बेवास्ता गरेको भन्दै कतिपय स्थानीयहरुले असन्तुष्टि समेत बारम्बार पोख्ने गरेका छन् ।तुलनात्मक रूपमा शान्त मानिने एमाले नेता डा राजन भट्टराई यस क्षेत्रमा पराजित भएपनि निरन्तर बिकासको काममा सक्रिय हुनु, मेलम्ची आयोजनाको पाइप बिच्छाउन करोडौं बजेट पार्न सफल हुनु र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पुन एमाले बिजय हुनु गगन थापाको अर्को चुनौती हो भन्न सकिन्छ ।
६. काठमाडौ महानगर र बूढानीलकण्ठ नगरपालिकाको नेतृत्वमा काङ्ग्रेस पराजित हुनु ।
स्थानीय निर्वाचन अगाडि गगन थापाले सबै फोरमहरुमा एउटै कुरा गर्थे । ‘स्थानीय तह निर्वाचनमा पराजित भएपछि उनले अपमानित हुनु पर्यो’। हुन पनि आफूले जितेको क्षेत्रमा पर्ने महानगर र बूढानीलकण्ठ नगरपालिकामा एमालेले जितेपछि उनिसग सामान्य औपचारिकता पनि पुरा गरिएन । कार्यकाल पुरै स्थानीय तह र साम्सद बीच टसलको अबस्थामा नै बित्यो । यो पटक त्यो अपमानलाई बदला लिने आक्रामक अभियान सहित लागेका गगन थापाको त्यो अभियान पनि असफल भएको छ। दुबै स्थानीय तहको नेतृत्वमा काङ्ग्रेसले जित्न असफल भएको छ भने उनको क्षेत्रमा पर्ने धेरै जसो वडाहरुको नेतृत्वमा पनि काङ्ग्रेस पराजित भएको छ। त्यसैले यो पटक स्थानीय तहको नेतृत्व पनि गगन थापाको लागी चुनौतीपूर्ण बनेको अनुमान गर्न सकिन्छ ।
७. बूढानीलकण्ठ क्षेत्रमा एमालेको बलियो सङ्गठनात्मक अबस्था।
बा आमा एमाले भएपनि छोराछोरीले गगन थापालाइ चाहिँ भोट हाल्नु पर्छ है भन्ने आम मान्यता क्षेत्र नम्बर ४ मा अघिल्लो निर्वाचनमा स्थापित थियो । युवा नेतृत्व भएका कारण पनि गगन प्रति आम मानिसको विशेष चासो हुनु स्वाबाभिक नै थियो । धेरैले गगन थापाले केही गर्छ भन्ने आम मनोबिज्ञानले समेत भोट हालेका थिए । नेकपा एमालेको राम्रो संगठनात्मक अबस्था भएको यो ठाँउमा हजारौं संगठित सदस्यहरु छन् । कतिपय त्यस्ता कार्यक्रताहरुको गगन प्रति सकारात्मक बिचार पनि थियो । तर लामो समय देखी यस क्षेत्रबाट निरन्तर गगन थापा निर्बाचित हुँदै गर्दा त्यो बिचार पनि घटदै गएको देख्न सकिन्छ भने प्राय परिवर्तनको चाहना राख्ने आम कार्यकर्ता तथा जनताले एकढिक्का भएर एमालेमै भोट हाल्ने अवस्था आउन समेत सक्छ ।
अन्त्यमा , काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली काङ्ग्रेसको साम्सदको रूपमा पटक पटक निर्वाचित भएका गगन थापाका लागी यो पटक पुन निर्वाचित हुनु थप चुनौतीपूर्ण बन्न पुगेको छ। नेकपा एमाले बिभाजन भएपनि भोटमा यस क्षेत्रमा खासै असर नपरेको र विजय हासिल हुने स्थिति स्थानीय तहको निर्वाचनबाट देखिएपछि एमाले बृतमा आशाको सन्चार भएको छ भने पक्का जितिने अपेक्षामा रहेका गगन थापालाई भने चस्का पसेको छ। स्थानीय तहको निर्वाचनमा भएको टिकट बितरणले चिडिएको नेपाली काङ्ग्रेसको एउटा पक्ष कहिले चुनाव आउला र देखाउला भनेर बसिरहेको छ। लामो समय देखि एउटै नेतृत्व रहिरहदा आम जनताका अपेक्षाहरु समेत चुलिदै गएका छन् । स्थानीय तहको निर्वाचनको क्षेत्रीय गणितमा समेत काङ्ग्रेस पछाडी परेको छ। तसर्थ ; काठमाडौ क्षेत्र नम्बर ४ मा गगन थापाको बिरासत संकटमा पर्ने त होइन ?
( लेखक: जनक पोख्रेल )