कांग्रेसमाथि प्रचण्डको आक्राेश, सत्ता गठबन्धन टुट्न सक्ने सम्भावना

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०७९
  • हरिगाेबिन्द श्रेष्ठ/विचार 

सत्ता गठबन्धन टुट्न सक्ने सम्भावना बढेर गएको छ । त्यसको संकेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

प्रचण्डले राजधानीमा पार्टीका नवनिर्वाचित स्थानीय निकायका जनप्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा सत्ता गठबन्धनमा दरार देखिएको संकेत गरेका छन् । सो अवसरमा उनले काँग्रेसलाई दम्भ नदेखाउन भन्दै देशलाई जता भन्यो उतै लान सक्ने शक्ति आर्जन भएको जिकिर गरे ।

संसदको चुनावमा सत्ता गठबन्धनभित्र प्रत्यक्षतर्फ सिट बाँडफाँडमा विवाद चलेको खुल्दै गर्दा प्रचण्डको भनाइ सार्वजनिक भएको हो । गठबन्धनमा काँग्रेस बाहेकका दलले कम्तीमा आधा सिट मागेका छन् । यसमा काँग्रेस नमानेको बुझिएको छ । प्रचण्डले काँग्रेसविरुद्ध पार्टीको कार्यक्रममा आक्रोश पोखेका हुन् ।

गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादी पार्टी पनि काँग्रेससँग असन्तुष्ट छ । निर्वाचन परिणामपछि माधवकुमार नेपालले असन्तुष्टि पोखिसकेका छन् । उनले आफूहरुलाई तालमेलमा कतिपय पालिकामा बाहिर राखिएको देखि धोका भएको विषय पनि गरिरहेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादव तालमेलका बाबजुद विराटनगरको उपमेयरमा पराजित भएका छन् । जसपाले २०७४ को स्थानीय चुनावभन्दा कम पालिका जितेको छ । यादव पनि असन्तुष्ट छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन् ।

कम्युनिस्ट पार्टीहरुभित्र एउटा समूह नै बनेर एकीकरण या तालमेलमध्ये एक विकल्प निर्माण गर्न सक्रिय छ । विशेषगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरु यसमा सक्रिय छन् । उनीहरुले एकता वा तालमेलका लागि पार्टी नेतृत्वमाथि दबाब बढाइरहेका छन् ।

गठबन्धनविरुद्ध बाह्य शक्तिले पनि सक्रियता बढाइरहेको बुझिएको छ । कम्युनिस्ट एकतामा चीन विगतमा खुलेरै लागेको थियो । फेरि चीनको सक्रियता बढेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अमेरिकी गतिविधि बढेकाले चीन झस्किएको छ । त्यसमाथि अमेरिकी उपसहायकमन्त्री उज्रा जीया काठमाडौं आएर तिब्बती शरणार्थीसँग भेटिन् । यसप्रति चीनले कूटनीतिक माध्यमले प्रश्न उठाइसकेको छ । सदनमा केपी शर्मा ओलीले यस घटनामा प्रश्न उठाएका थिए । माओवादी नेताहरु पनि यो घटनाको विरोधमा देखिएका छन् ।

चीनको कम्युनिस्ट पार्टीहरुमा प्रभाव बढी हुनु र नेपालमा अमेरिकी प्रभाव बढ्दै जानुले उसले नयाँ दबाब बढाउन थालेको छ । त्यो दबाब भनेको ओली, प्रचण्ड र माधव नेपाललाई मिलाउने नै हो । भित्रभित्र गठबन्धन तोडेर कम्युनिस्ट गठबन्धन निर्माण गर्न आन्तरिक र बाह्य शक्ति लागिपरेका छन् । यी यावत् राजनीतिक परिदृश्यले सत्ता गठबन्धन टुट्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।


Published :१८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media