जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले छुवाछूत अन्त्यका लागि सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई आग्रह गर्नुभएको छ ।

पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछूत अझै अन्त्य हुन नसकेको राष्ट्रपति भण्डारीले बताउनुभयो । ‘जातीय विभेद तथा छुवाछूत प्रथा मानव सभ्यताको कलङ्क हो’, सन्देशमा भनिएको छ, ‘यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । यसको अन्त्यका लागि तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, सामाजिक संघसंस्था र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण छ ।’

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

२०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । त्यसैको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ मनाउने गरिएको छ ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media