गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७९

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको राजीनामाको माग गरिएको छ ।

एमाले सांसद लालबहादुर थापाले निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको भन्दै राजीनामा मागे गरेका हुन् ।

गत वैशाख ३० गते बूढीगंगामा स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि पुनः निर्वाचन गर्न लागिएको हो । यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

उनले गृहमन्त्रीको राजीनामा, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न पनि माग राखे ।
थापाले प्रचलित कानुन बमोजिम नै बूढीगंगामा मतदान भएको भन्दै पुनः निर्वाचन गर्नुको सट्टा मतगणना सुरु गर्नुपर्ने माग गरे ।

तर, एमाले सांसद थापाले पुनः मतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले जनताको अभिमतको अन्याय गरेको आरोप लगाए । उनले उक्त निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सगुन शमसेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानविन समितिको प्रतिवेदन विपरीत राजनीतिक जालझेल, षडयन्त्र एवम् प्रचलित कानुन विपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरी जनताको अभिमतमा अन्याय गरेकाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत दुई जना आयुक्तहरुको सभामुखमार्फत् राजीनामा माग गरेका छन् ।


Published :२४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media