एसपीपीबारे प्रधानमन्त्रीले सदनलाई तत्काल जवाफ दिनुपर्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई अबिलम्ब जवाफ दिनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले केही दिनदेखि संसद्को बैठक र संसदीय समितिमा सांसदहरुले उक्त विषय बारम्बार उठाइरहेकाले प्रधानमन्त्रीले तत्काल सदनलाई त्यस विषयबारे जवाफ दिनुपर्ने बताए ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले लिएकाले यो विषयमा प्रधानमन्त्रीले नै सदनलाई जवाफ दिनुपर्ने माग गरे ।

सांसद थापाले भने, “संसदमा यत्तिको प्रश्न उठिसक्यो रक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएको प्रधानमन्त्रीले तत्काल सदनमा आएर जवाफ दिनुपर्छ ताकि यो सम्झौता के हो ? कस्को पालामा सुरु भयो ? पूर्ववर्ती सरकारले अघि बढाएको सम्झौता भन्ने पनि समाचारमा आइरहेको छ यस्ता कुराको जवाफ सरकारले तत्काल सदनलाई दिनुपर्छ ।”

महामन्त्री थापाले नेपाली सेना संलग्न हुने कुनै पनि साझेदार छिमेकी मुलुक वा शक्ति मित्रराष्ट्रसँग नेपाल प्रयोग हुन नपाउने तर विकासको साझेदारीमा सहभागी हुन पाउने भन्दै सामरिक महत्वको विषयमा नेपाल शक्तिराष्ट्रको छेउमा पुग्न नहुने तर्क गरे ।

सांसद थापाले भने- “यो मेरो व्यक्तिगत धारणा मात्र हैन, नेपालको संविधान यही भन्छ र इतिहासले पनि यही कुरा सिकाएको छ, प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि छन्, पार्टीको निर्णय र पोजिसन पनि यही नै हो, नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको कुनै पनि कुरामा न कहिल्यै भएको थियो र हुनसक्छ ।”


Published :१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media