अनाधिकृत व्यक्ति प्रयोग गरी करका दर परिवर्तन गरेको भन्दै एमालेद्वारा संसद बैठक बहिस्कार

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठकबाट बाहिरिएका छन् ।

बजेट निर्माणका क्रममा १४ जेठको मध्य राति अर्थ मन्त्रालयमा दुईजना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए । त्यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु बैठकबाट बाहिरिए ।

एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक चलाइरहेका छन् । अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि जवाफ दिइरहेका छन् । जवाफका क्रममा उनले कुनै पनि अनाधिकृत व्यक्ति प्रवेश नगराएको दाबी गरेका छन् ।


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media