एसपिपी राष्ट्र हित विपरीत रहेकाले स्वीकार्य हुँदैनः ईश्वर पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले देशको असङ्लग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताएका छन् । उनले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम (एसपिपी) राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताए ।

उनले आफू उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाई अस्विकार गरेको दाबी गरे ।

उनले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाए ।

उनले सन् २०१५ र २०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट गरे । उनले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताए ।

बैठकमा सांसद दुर्गा पौडेलले एसपिपी मुलुकको पक्षमा नरहेको उल्लेख गर्दै त्यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिए । यसले देशमा गम्भिर खतरा उत्पन्न भएको सङ्केत मिलेकाले त्यसलाइ अस्विकार गरेर अघि बढ्न आग्रह गरे ।


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media