एसीसी महिला टी-२० मा नेपालद्वारा कुवेत २५ रनले पराजित

काठमाडौं  । एसीसी महिला टी-२० च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई  ५० रनले पराजित गरेको थियो ।

शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन सक्यो ।

कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १४ रन बनाए ।  नेपालकी सीता रानामगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १-१ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनायो । नेपालका लागि कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले ६० रनको साझेदारी गरेका थिए । रुविनाले २७ बलमा ४ चौकासहित ३४ र इन्दु ३३ बलमा २ चौकासहित २८ रन बनाइन् ।

त्यस्तै ओपनर विन्दु रावलले ११ र ज्योति पाण्डेले १५ रन जोडे भने बलिङतर्फ कुवेतका लागि मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिएकी थिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सो खेलमा खदिजा खालिलको नाममा एक विकेट रह्यो ।


Published :४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media