अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण, समितिमा उपस्थित हुन नसक्नुको कारण ?

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने भएको छ । प्रधानमन्त्री देउवा समितिको बैठकमा अनुपस्थित भएपछि समितिले उपस्थित हुन नसक्नुको कारणसहित खुलाउन भनेकाे छ ।

समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार समितिको बैठकमा बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् । तर कांग्रेस सांसदहरुले कार्यव्यस्तताका कारण होला भन्दै बचाउ गरेका थिए । लामो छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकूल भएकाले ध्यानाकर्षण गराउनुका साथै स्पष्टीकरण सोध्ने निर्णय गर्ने प्रस्ताव गरिन् ।

तर कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाए । उनीहरुले प्रधानमन्त्रीलाई फेरि बोलाउन सकिने तर एक पटक नआउँदैमा लोकतन्त्र प्रतिकूल भन्न नहुने तर्क गरे ।

विवाद र बहसपछि समिति सभापति खरेलले निर्णय सुनाइन्, ‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

एमाले सांसद भीम रावलले ‘संसदमा पनि विरोधका बीच एमसीसी पास भयो भने यहाँ हल्लाका बीच पारित भयो भनेर अन्यथा लिनुपर्दैन’ भन्दै सभापति खरेललाई ढाडस दिए ।

बैठकमा कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाए । उनीहरुले प्रधानमन्त्रीलाई फेरि बोलाउन सकिने, तर एक पटक नआउँदैमा लोकतन्त्र प्रतिकुल भन्न नहुने तर्क गरे ।


Published :५ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media