क्याबिनेट बैठक लाइभ गर्न सांसद खिमलाल देवकोटाको माग

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले यस्तो बताएका हुन् ।

उनले संसदबाट पारित गरिएको एमसीसी सम्झौता पनि सरकारले त्यसै गरी अघि बढाएको बताए । उनले सरकारले पारदर्शिता अपनाउनुनपर्ने हो र ? भनी प्रश्न गरे ।

सांसद देवकोटाले राज्यका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै सोही अनुसारको कामको व्यवस्था गर्न सरकारसँग माग गरे । हालै काठमाडौं महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठक समेत लाइभ गराएर पारदर्शिताको उत्कृष्ट नमुना प्रदर्शन गरेको भन्दै सोही अनुसारको काम सरकारले पनि गर्नुपर्ने धारणा राखे । उनले सरकारले आफ्ना सबै निर्णयहरु सार्वजनिक गर्नुपर्ने बताए ।

उनले अगाडि भने ‘मेरो प्रश्न छ-राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका मध्ये पारदर्शी हुनुपर्ने के व्यवस्थापिकाले मात्रै हो ? सरकार हुनुपर्दैन ? संसदको बैठक जीवन्त हुन्छ, भइरहेको छ । संसदीय समितिका बैठकका गतिविधिहरु पनि जीवन्त छन्, पारदर्शी छन् । तर सरकारले त क्याबिनेटका निर्णयहरु पनि लुकाउँछ । सरकारका मन्त्रीहरुको नै कुरा गर्ने हो भने निर्णयहरु लुकीछिपी गर्छन् । सार्वजनिक गर्दैनन् । जनतालाई थाहा दिँदैनन् । सुरुवाती अवस्थामा एमसीसीमा लुकीछिपी निर्णय गरे । अहिले बहुचर्चित एसपीपीमा पनि त्यही गरेका छन् ।’

काठमाडौं, धरानलगायतका केही पालिकाहरुले अहिले कार्यपालिकाको बैठक समेत लाइभ गरिरहेको बताउँदै उनले पारदर्शिताको यो सबभन्दा राम्रो नमुना भएको बताए ।


Published :५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media