सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु पुष्टि

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो ।

एक सय बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको थियो । पशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिए ।

बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ ।

पशुपक्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटरसम्म क्षेत्रमा पालिएका पक्षीलाई नष्ट गर्ने तयारीमा रहेको जनाएको छ ।

बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार ५०० बढी टर्की छन् ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताए ।

उनले भने, “आफूले पालेको पक्षीमा शङ्कास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकेर पशु चिकित्सकलाई खबर गर्न आग्रह गरेका छौँ ।”


Published :९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media