अधिकांश स्थानीय तहले आव २०७९/८० का लागि आज बजेट सार्वजनिक गर्ने

काठमाडौं । अधिकांश स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट सार्वजनिक गर्दैछन् । कतिपय स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ नगरसभामा पेश गरिसकेका छन् ।

धेरैजसो स्थानीय तहले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सभामा पेश गर्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ ।

संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। संघीय र प्रदेश सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तहलाई संघीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् । स्थानीय तहले संघ तथा प्रदेश सरकारले दिएको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानी आ-आफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्ने अन्तिम तयारी गरेको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले जनाएका छन् ।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।


Published :१० असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media