अकबरे खुर्सानीबाट करोडौँ आम्दानी

भोजपुर  । भोजपुरका कृषकले अकबरे खुर्सानीबाट करोडौँ आम्दानी गरेका छन् । त्यसैले व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो ।

गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए । उनले भने, “हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरेलाई लिएका छौँ। गएको याममा गाउँपालिकामा रु छ करोड ५० लाख रकम खुसार्नी बिक्रीबाट भित्रिएको छ ।”

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन्। विशेष गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।

गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि गरेर अहिले चार हजार पाँच रोपनी जमिनमा अकबरे खुसार्नीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । खुसार्नी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।

गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्राम हारहारीमा खुसार्नी उत्पादन भएको गाउँपालिकाको भनाइ थियो। खोर्सानी खेती विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने शाखा प्रमुख राईले जानकारी दिए ।

उनले भने, “हामीले यहाँ खुसार्नीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ। गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ। यो याममा एक हजार ५०० बढी क्षेत्रमा थप विस्तार गरिएको छ। विगतको याममा भन्दा यस वर्ष उत्पादनमा समेत वृद्धि हुने देखिन्छ ।”

गाउँपालिकाभित्रका १५० बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन्। आलो खुसार्नी उत्पादनको सुरुको चरणमा रु ३५० देखि ४०० सम्म र धेरै उत्पादन भएपछि रु १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकहरुको भनाइ छ। किसानले उत्पादन गरेको खुसार्नी ठेकेदारले घरमै आएर लैजाने गरेका छन्। यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडौँलगायत ठाउँमा जाने गरेको छ ।

गाउँपालिकाले कृषिमा प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि खेती विस्तारमा ऊर्जा मिलेको कृषक निराजन श्रेष्ठले बताए।उनले भने, “खुसार्नी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु । उत्पादन भएको खुसार्नी किन्न ठेकेदार घरमै आउँछन् । पछिल्लो समय अलि खुसार्नीमा जरा कुहिने रोगले सताएको छ। गाउँपालिकाको तर्फबाट राम्रो प्राविधिक सहयोग पाएका छौँ ।”

गाउँपालिका खुसार्नी, अण्डा तथा तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिकाले जनाएको छ। कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाइएको गाउँपालिकाको भनाइ थियो। छवटा वडा रहेको गाउँपालिकाको भौगोलिक बनावट अनुसार छुट्याएर माटो र हावापानी सुदाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

उनले भने, “हामीले दूरदर्शी योजनाका साथ कृषिसँगै भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिरहेका छौँ। हामीले यहाँको कुन ठाउँमा कस्तो बाली खेती गर्न सकिन्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौँ। यसैका आधारमा लगानी गर्छौँ । अहिले आएर कृषकले निकै राम्रो आम्दानी लिँदै आएका छन् ।”

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरेको छ। त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको स्थानलाई आलु, बन्दाकोभी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ। वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

उनले भने, “हामीले कृषिमा प्राथमिकताका साथ काम गरिरहेका छौँ। त्यसको परिणाम पनि देखिन थालेको छ। हालको गाउँपालिकाको राम्रो आम्दानीको स्रोतका रूपमा खुसार्नीलाई लिन सकिन्छ। कृषिका अन्य क्षेत्रमा पनि काम भइरहेको छ। श्यामशिला क्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा कृषकले व्यावसायिकरूपमा किवी खेती गरिरहेका छन्। किवीको बिक्रीबाट अबको केही वर्षमा राम्रो आम्दानी भित्रिन्छ ।”

यो क्षेत्रलाई हामीले किवी पकेट क्षेत्रका रूपमा विकास गरिरहेका छाँै । अहिले यहाँ दुई दर्जन बढी कृषकले किवीको व्यावसायिक खेती गरिरहेका छन् । कतिपय कृषकले लगाएको किवीले फलसमेत दिन थालेको छ । यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनायो । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ थियो ।

अरु खुसार्नीका तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

यसबाट पेटसम्बन्धी मात्र होइन अन्य रोगीलाई समेत फाइदा हुनाका साथै पेटमा हुने ग्यास्ट्रिक तथा अल्सरजस्ता रोग पनि निको हुने सम्बद्ध विज्ञले बताए ।

नियमित सेवन गर्दा मोटोपना घटाउन मद्दत गर्ने अकबरेमा क्याप्सिसिन पाइन्छ ।

अकबरेले रगतमा चिनीको मात्रा घटाउनाका साथै यसले हाडजोर्नीलगायत दुखाइ पनि कम गर्ने स्वास्थ्यकर्मीले बताउने गरेका छन् । विभिन्न आकारका यो खुर्सानीले खाना रुचाउने स्थानीयवासीको भनाइ थियो । अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुन्छ । यसको सेवनबाट पिसाबको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको अचार बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

दैनिक जनजीवनमा उपयोगी रहे पनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको स्थानीयवासीको भनाइ थियो । ठूलो गोलो लाम्चो (मिठो बास्ना आउने) जातको अकबरे निकै पिरो र सबैले मन पराउने जात हो।


Published :१४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media