आज असार पन्ध्र अर्थात् धान दिवस

काठमाडौं । आज असार १५ अर्थात् मानो रोपेर मुरी फलाउने दिन । यसलाई किसानहरूको पर्वका रुपमा पनि लिइन्छ । आजको दिनलाई सरकारी तवरबाटै राष्ट्रिय धान दिवसका रूपमा समेत मनाइँदै आइएको छ । यस अवसरमा बिभिन्न संघ संस्थाले समेत देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाउने गरेका छन् ।

विशेषगरी असार १५ मा असारे गीत गाँउदै धान रोप्ने, हिलो खेल्ने र दहि चिउरा खाने पुरानो परम्परा रहिआएको छ । दही चिउरा खाने परम्परा कहिलेदेखि सुरू भयो भन्ने यकिन नभए पनि धान रोप्ने चलन सुरू भएदेखि नै यो परम्परा रहेको मानिन्छ ।

विशेषत रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने पुरानो प्रचलन हो। तर पछिल्लो समय बल्ल शुरु भएको रोपाइँको चटारोको समयमा यो पर्व मनाउने गरिन्छ । यसको कारण मध्येको एक मौसम परिवर्तन पनि हो ।

असार १५ मै किन खाइन्छ दही चिउरा ? प्रायः को एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो । तर समयक्रमले यसलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीको तर्क छ ।

उनीहरूका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ ।

त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुन्थ्यो । किसानहरूको घरमा असारमा हुने रोपाइँका लागि वैशाखमै चिउराको जोहो गर्ने प्रचलनसमेत थियो । यसरी घरमै हुने दही-चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुशीयालीमा भोज गर्ने प्रचलन रहेको हो ।

स्वादिलो र स्वस्थबर्धक हुने भएकाले पनि १५ असारमा विशेष खाजाको रूपमा दहि चिउरा खाने चलन बसेको मानिन्छ । दहि चिउराको खाजाले रोपाइ गर्दाको थकान मेटाउने र शरिरमा उर्जा भर्ने विश्वास रहि आएको छ ।

असारको मध्यमा यो पर्व पर्ने भएकाले खेतमा काम गर्न्र लाठे, रोपारहरूले खाजाको रूपमा दहि, चिउरा, केरा खाने गर्छन् । गर्मीमा दहिले शित्तलता पनि प्रदान गर्ने गर्छ ।

आफ्नो खेतिपाती नभएका मानिसहरू समेत १५ असारको दिनमा मात्रै भएपनि अरूकै खेतमा गएर खेतको काम गर्ने, हिलो खेल्ने र दहि चिउरा खाँदै रमाइलो गर्ने गर्छन् ।

तन्नेरी लाठे र रोपारबीचमा हिलो छ्यापाछ्याप गर्ने र असारे भाकाको गीत गाउने चलन पनि छ । असार १५ मा दहि चिउरा खाएर खेतमा काम गर्ने पुरानो परम्परालाई सम्झँदै आजभोली नेपालका गाउँमा मात्रै होइन शहरबजारमा समेत आजको दिनलाई दहि चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका र विदेशमा भएका नेपालीले पनि आज दहि चिउरा खाई असार १५ मनाउँछन् ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यबर्धक मानिन्छ । दहीले हाम्रो शरीरको पाचन शक्ति पनि बढाउँछ ।


Published :१५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media