राजनीतिक दल घोषणा गर्ने तयारी गर्दै स्वतन्त्र उम्मेद्वारहरु

ललितपुर । स्वतन्त्र उम्मेद्वारीको घोषणा गरेका स्वतन्त्र उम्मेद्वारहरुले छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।  स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका हुन् ।

शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल चलाएका छन् । दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले बताए ।

सायमीले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु भएको जानकारी दिए । संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ भएकाले त्यहाँ बहुमतको कदर हुने र एक व्यक्तिले कानुन बनाउन नसक्ने भएकाले त्यसमा जाँदा दलको विकल्प दल भएकाले आफूहरुले नयाँ दलको अवधारणा बनाएको उनले बताए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रहरुको पनि एउटा दलको आवश्यक्ता छ भन्ने निष्कर्षका साथ आफू सो विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रविन्द्रकुमार श्रेष्ठले बताए । उनले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलाले सो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।

श्रेष्ठले भने, ‘प्रदेश र संघको निर्वाचनमा एउटा दलको आवश्यक्ता छ नयाँ विचारसहितको । देशको समस्या यो हो । यसरी निकास दिन सकिन्छ भन्ने विचारसहितका नयाँ दल चाहिन्छ भन्ने मेरो विचार छ । प्रदेश र संघको निर्वाचनमा अनिवार्य छ दल ।’

देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी भएका छन । ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को नाममा आयोजना गरिएको सो विशेष भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्ष निकाल्ने जनाइएको छ ।


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media