प्रचण्डले माओवादी पदाधिकारीको नाम प्रस्ताव गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा महासचिवसहित पार्टीका सबै पदाधिकारीको नाम प्रस्ताव गर्ने गरी सहमति भएको छ ।

आज प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्षलाई दिइएको माओवादीका एक नेताले बताए ।

उनका अनुसार पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने सबै अधिकार अध्यक्षलाई दिइएको छ ।

माओवादी विधानमा अध्यक्ष सहित १५ जना पदाधिकारी हुने व्यवस्था गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष एक जना, एक जना महासचिव र एक कोषाध्यक्ष हुने छन् । अरू उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा ११ जना समेटिने भएका छन् । माओवादीको महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।


Published :२१ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media