मादी हत्यामा संलग्न चारजनालार्ई आजीवन कारावास

किमाथाङ्का । जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चारजनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ ।

जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो। विसं २०७८ भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँच जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसद गौतमले जानकारी दिए ।

हत्यामा संलग्न मादी –१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको श्रेस्तेदार गौतमले बताए ।

जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा चार जनाले रु दुई, दुई लाख क्षतिपूर्ति र पीडित राहत कोषमा रकमसमेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत सङ्खुवासभाले जनाएको छ। उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्ति हुन् ।

जिल्ला प्रहरी सङ्खुवासभाले पनि चार जनाविरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो। गत २०७८ भदौ २१ उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षका विपीन र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्यामा संलग्न भएका १७ वर्षीय नरेशलाई बाल सुधारगृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो ।

 


Published :२१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media