काठमाडौं । निर्वाचन आयोगले आज सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति प्रस्ताव गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लाग्नुभएको हो । आयोग पदाधिकारीहरूका अनुसार आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ ।
मंगलबार आयुक्तहरूबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर २ को मिति आएको आयोग स्रोत बताउँछ । आयोगले आगामी मंसिर २ वा ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्न लागेको हो । आयोगसँगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ।
आयोगले आयोगले मिति सिफारिस गरेपछि चुनावको तयारीका लागि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ।
आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको बताइएको छ। यसअघि कात्तिक ३० गते चुनाव गने गरी सिफारिस गर्ने भनिए पनि आयोगले मंसिर २ वा ५ मध्ये एक दिनलाई रोजेको हो ।