हिन्दु धर्मावलम्बीहरुको महान् पर्व आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा सारेर मनाइँदै

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व आज हरिशयनी एकादशी । आजको दिनमा घरघरमा तुलसीको बिरुवा सारिने गरिन्छ ।

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको विरुवा सारेर चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको विरुवा आज मोठमा सारिन्छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा विशेष पूजा हुने गर्दछ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रूपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजाअर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास नेपाली समाजमा रहेको छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।


Published :२६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media