चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेकपा एमाले बुढानीलकण्ठ कार्यालयमा (फोटो फिचर)

काठमाडौँ । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा विदेश विभाग प्रमुख लिउ  लिउ चियान छाओले नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।

सो अवसरमा प्रमुख  लिउसहितको टोलीले बुढानीलकण्ठ नगर कमिटी र वडा नं ८ का बारेमा जानकारी लिनुका साथै स्थानीय कमिटी परिचालन र सञ्चालनका बारेमा छलफल समेत गरेका थिए ।

सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई, प्रदेश कमिटी सदस्य तथा बुढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, जिल्ला कमिटी सदस्य तथा नगर उपप्रमुख अनिता लामा, नगर कमिटी अध्यक्ष प्रदिप डंगोल, उपाध्यक्ष शम्भु भट्टराई, सचिव श्रीकृष्ण श्रेष्ठ, उपसचिव धोर्जे लामा र सुनिता गुरुङसहित वडा नं १३ र ५ का सांस्कृतिक समूहले चिनियाँ टोलीलाई नगर तथा वडा कार्यालयमा भव्य स्वागत गरेको थियो ।

सो अवसरमा नेपालका कम्युनिष्ट पार्टीका स्थानीय कमिटीहरुको अवस्था, सञ्चालन प्रक्रिया र सहभागिताका बारेमा जानकारी लिने चिनियाँ टोलीको कार्यक्रम तालिकाअनुसार बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कार्यालयको अवलोकन भ्रमण गरिएको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिए ।

चिनियाँ टोलीको सो भ्रमणका अवसरमा बुढानीलकण्ठ नगरपालिकाको समग्र वस्तुस्थितिका बारेमा अध्यक्ष प्रदिप डंगोलले जानकारी गराएका थिए । सचिव श्रीकृष्ण श्रेष्ठले संगठन र त्यसको अवस्थाका बारेमा टोलीलाई ब्रिफिङ गरेका थिए।

एमाले नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ उपत्यकामै नेकपा एमालेले अत्यधिक मतका साथ सानदार जित प्राप्त गरेको बुढानीलकण्ठ नगरपालिकामा चिनियाँ विदेश विभाग प्रमुखको आगमन हुनु निकै सुखद रहेको बताए । उनले सो टोलीले सूक्ष्म रुपमा संगठन र परिचालनका बारेमा जिज्ञासा राख्नुका साथै आगामी दिनमा थप सहकार्यका बारेमा बृहत् छलफल भएको जानकारी दिए ।

 


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media