शेयर बजारमा ५९.५४ अंकको वृद्धि

काठमाडौँ । बुधबार नेप्से परिसूचक ५९.५४ अंक बढेर १९८६.८२ विन्दुमा पुगेको छ ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंक बढेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन २२५ स्टकको ३२ हजार ७८२ पटकको कारोबारमा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँ बराबरको ५७ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से बढेसँगै यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल फाइनान्स, रिलायन्स फाइनान्स र सीईडिबी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन ८ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ । अन्य स्टकको शेयरमूल्य गिरावट भने २ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

बुधबार सबै उपसमूहको परिसूचक उकालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ६.२५ प्रतिशत बढेको छ भने व्यापारको ५.३९ प्रतिशत बढेको छ ।


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media