नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ९८ जनाको मृत्यु

काठमाडौँ । मध्य नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ९८ जनाको मृत्यु भएको छ। गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको हो। अन्यको घटनास्थलमा नै मृत्यु भएको थियो।

स्थानीय आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा आराका अनुसार शनिबार उत्तरमध्य नाइजर राज्यको व्यस्त सडकमा ट्यांकर पल्टिएको थियो। त्यसपछि मानिसहरूले पेट्रोल निकाल्ने क्रममा विस्फोट भएको थियो।

घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विस्फोट भएको बताइएको छ। उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको संख्या ५५ जना पुगेको छ।

राष्ट्रपति बोला टिनुबुले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचार गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्। (रासस)


Published :माघ ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media