भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादी मारिए

रायपुर । भारतीय सुरक्षा बलले मंगलबार एक शीर्ष कमान्डरसहित कम्तीमा १४ माओवादी विद्रोहीलाई गोली हानेर मारेका बताइएको छ। गृहमन्त्रीले यसलाई हालैका लडाईंहरूमध्ये सबैभन्दा ठूलो भनेका छन्।

गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ।

नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ। भारतको छत्तीसगढ राज्यको जङ्गलमा रहेका छापामारहरूको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मङ्गलबारको झडप भएको हो।

भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए।

नक्सलाइट भनेर पनि चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओ त्से तुङबाट प्रेरित थिए। नक्सलाइट सन् १९६७ मा उनीहरूको सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट राखिएको हो।

‘नक्सलवादलाई अर्को ठूलो झट्का’, गृहमन्त्री अमित शाहले १४ विद्रोहीलाई ‘समाप्त’ बनाएको पुष्टि गर्दै विज्ञप्तिमा भने। विद्रोहीहरूलाई परास्त गर्न सन् २०२६ मार्चको समयसीमा तय गरेका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताए।

यस क्षेत्रमा अतिरिक्त बल पठाइएको प्रहरीले जनाएको छ। ‘सुरक्षा बल अझै जङ्गलभित्र छ’, छत्तीसगढको माओवादी विरोधी अभियानका प्रमुख विवेकानन्द सिन्हाले भने।

माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन्। उनीहरूले भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे र सन् २००० को सुरुआतसम्म आन्दोलन शक्ति र सङ्ख्यामा बढ्दै गयो। त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्यो।

यस द्वन्द्वमा सरकारी बलमाथि पनि धेरै घातक आक्रमणहरू भएका छन्। यस महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो। (रासस)


Published :८ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media