एम अधिकारीबारे छानबिन गर्न सांसदहरुको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले एम अधिकारीबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा सांसद् जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरे ।

बिहीवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन् । उनले नियम,कानून,मूल्य मान्यता,गल्ति र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसात गर्न आग्रह गरेका हुन् ।

त्यस्तै, सांसद सरलादेवी भट्टले सरकारले महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने बताएकी छन्। उनले बजार महँगीले दिनभरी काम गरेर विहान बेलुका दुई छाक खाने परिवार अहिले भोकभोकै बस्न बाध्य रहेको गुनासो गरेकी छन् । उनले बजार मूल्य नियन्त्रण गर्ने सरोकारवाला निकाय र सरकार मौन बसेको बताए ।

यस्तै, सांसद सुमित्रा बिसीले सरकारले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अवस्थामा आवश्यक नै नभएको हतियार खरिद गर्न लागेको भन्दै आपति जनाएकी छन् ।

उनले सरकारले सांसदहरुसँग समेत छलफलबिना महत्वपूर्ण नागरिकता, हतारहतार किन्ने, महिला हिंसा विधेयक हतारहतारमा ल्याएको बताइन् । सांसद बिसीले यौन हिंसा सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पास भएकाले हदम्यादको बारेमा सरकारले पुनर्विचार गर्न माग गरेकी छन् ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media