मेरो मिसन ८३ मा गगन थापालाई सभापति बनाउने होः इन्द्रबहादुर थापा

राष्ट्रपाटी न्युज

जेष्ठ १८, २०८२

काठमाडौं । इन्द्रबहादुर थापाको जन्म २०२५ साल भाद्र १५ गते काठमाडौं जिल्लाको बुढानीलकण्ठ-२ (साबिक चपली गाविस) मा पिता जगत बहादुर थापा  र माता  कृष्ण कुमारी थापाको कोखबाट भएको हो । बुढालीकण्ठ-२ मा रहेको गणेश माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले त्यसपछिको अध्ययन भने पिपुल्स कलेजबाट पूरा गरेका थिए ।

राजनीतिक एवं सामाजिक रुपमा सक्रिय परिवारका सदस्य थापा सानैदेखि विविध विषयहरुमा चासो राख्थे । आफना हजुरबा जोग बहादुर  थापाको सामाजिक तथा धार्मिक सोच र अभियानबाट उनी निकै प्रभावित भएका थिए । आफ्नै दाइ रामकृष्ण थापा प्रधानपञ्च भएर पनि होला उनलाई टोल, समाज र सामाजिक विषयवस्तुका बारेमा बुझ्न अझ सजिलो भएको थियो । यसैको प्रभाव स्वरूप पनि हुन सक्छ, उनी २०४०/०४१ सालदेखि नै रक्तदानसहितका विभिन्न सामाजिक कार्यमा सहभागी हुन थाले ।

नेविसंघमा सक्रियता 

इन्द्रबहादुर थापाले २०४४ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएका थिए । उनी भन्छन्, “जनआन्दोलनअघि २०४६ साल माघ ५, ६ र ७ गते भारतीय नेता चन्द्रशेखरको उपस्थितिमा गणेशमान सिंहको निवास चाक्सीबारीमा जनआन्दोलनसम्बन्धी छलफल भएको थियो । उक्त छलफल तथा भेलामा नेविसंघको कार्यकर्ताका रुपमा स्वयंसेवकको भूमिका निर्वाह गरेको क्षण मेरा लागि गर्विलो इतिहास हो ।” त्यसैगरी पिपुल्स कलेजमा समेत उनी नेविसंघको कार्यकर्ताका रुपमा सक्रिय भएका थिए।

नेपाली कांग्रेसको क्रियाशील सदस्य

थापाले २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय उनी काठमाडौं जिल्लामा सातवटा क्षेत्र हुँदा २०५३ सालमा क्षेत्र नम्बर ३ को क्षेत्रीय समिति सदस्यका रुपमा रहेर काम गरेका थिए । त्यसको लामो समयपछि २०७२ सालमा काठमाडौं- ४ को सभापतिको दावेदार भए पनि विभिन्न परिस्थितिका कारण क्षेत्रीय समिति सदस्यका रुपमा निर्वाचित भएको उनी बताउँछन् । त्यसपछि २०७४ सालमा सवुज बानियाँ सभापति हुँदा उनी जिल्ला कार्यसमिति काठमाडौंको सदस्यका रुपमा मनोनित भए । त्यसको चार वर्षपछि २०७८ सालमा सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट उनी आफ्नो प्रतिद्वन्दीभन्दा १,००० बढी मत प्राप्त गरी जिल्ला सचिव पदमा निर्वाचित भएका थिए।

एउटै परिवारबाट आफ्ना दाइ रामकृष्ण थापा पार्टी नेतृत्वमा भएका कारण आफूले केही समय पार्टीको महत्वपूर्ण जिम्मेवारी नपाएको इतिहास सम्झँदै उनी भन्छन्, “पार्टीमा पद नभए पनि निरन्तर रुपमा सक्रिय रहेँ, पारिवारिक तथा राजनीतिक रुपमा दाइलाई सहयोग गरिरहें । आफूलाई अवसरविहीन र कमजोर कहिल्यै ठानिनँ ।

थापाका सहोदर दाइ रामकृष्ण थापा २०३९ र २०४३ सालमा भएको स्थानीय निर्वाचनमा दुइ पटक प्रधानपन्चमा निर्वाचित भएका थिए। त्यसपछि २०४६ सालको जनआन्दोलन पश्चात २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट चपली भद्रकाली गाउँ विकास समितिको अध्यक्षको रुपमा निर्वाचित भइ निरन्तर रुपमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षको भूमिका

इन्द्रबहादुर थापाले बुढानीलकण्ठ-२ मा रहेको गणेश माविको दुई कार्यकाल विद्यालय व्यवस्थापन समिति अध्यक्षको भूमिका निर्वाह गरेका थिए । गणेश माविमा प्रयोगशाला तथा पुस्तकालयलगायतका भौतिक निर्माणमा व्यापक परिवर्तनसँगै विद्यालयमा उच्चतम शैक्षिक वातावरण निर्माणमा ठूलो योगदान पु-याएको उनी बताउँछन् । विद्यालयको भौतिक निर्माणमा पु-याएको योगदानको उच्च मूल्यांकन गर्दै तत्कालीन जिल्ला शिक्षा कार्यान्वयन इकाई काठमाडौंको सिफारिसमा उनलाई उत्कृष्ट व्यवस्थापन समिति अध्यक्षका रुपमा पुरस्कृत गरिएको थियो ।

तत्कालीन अवस्थामा गणेश माविको अध्यक्ष भए तापनि उनले त्यस क्षेत्रका विभिन्न ११ वटा विद्यालयको भवन निर्माण गर्ने योजना पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् ।

सामाजिक अभियन्ताको भूमिका

बाल्यकालदेखि नै राजनीतिक एवं सामाजिक, पारिवारिक वातावरणमा हुर्किएका थापाले आफ्नो जीवनभर एक सामाजिक अभियन्ताको भूमिका निर्वाह गरेका छन् । आफ्नो हजुरबाको सामाजिक एवं धार्मिक सोचबाट प्रभावित उनले २०७२ सालको भूकम्पको बेला स्वयंसेवी भूमिका निर्वाह गरे । बाँस र जस्ताबाट विभिन्न विद्यालय र अन्य प्रयोजनका लागि २०० भन्दा धेरै टहराहरु निर्माण गर्ने कार्यमा संलग्न भए ।

त्यसैगरी कोभिडको कारणले देशभर लकडाउन भएर जनजीवन प्रभावित हुँदा आफ्नै गाडीको प्रयोग गरी खाद्यान्न वितरण एवं उपचारमा सहयोग गरी पीडाको घाउमा मल्हम लगाउन पाएकोमा उनी खुशी व्यक्त गर्छन् ।

त्यसैगरी विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विविध सहयोग गरी उनीहरुको भविष्य निर्माणमा साथ दिने गरेको उनी बताउँछन् । यो वर्ष पनि श्री जय भद्रकाली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको सहयोगका लागि झन्डै १३०० वटा कापी वितरण गरिएको छ ।

भौतिक निर्माणमा योगदान

विभिन्न ११ वटा विद्यालय भवन निर्माणको योजना पार्ने भूमिका तथा भूकम्पका बेला बाँस र जस्ताबाट विभिन्न विद्यालय र अन्य प्रयोजनका लागि २०० भन्दा धेरै टहराहरु निर्माण गर्ने कार्यसँगै थापाले अन्य थुप्रै भौतिक निर्माणमा योगदान पु-याएका छन् । केही वर्षअघि उनले बुढानीलकण्ठ प्रहरी प्रभागको भवन निर्माण कार्य सम्पन्न गर्न सर्वदलीय समितिको संयोजकका रुपमा अत्यन्त महत्वपूर्ण योगदान पु-याएका थिए । त्यसका अतिरिक्त त्यस ठाउँमा करिब १७ लाख चन्दा उठाएर अर्को भवन बनाउनसमेत थापाले नेतृत्वदायी भूमिका निर्वाह गरे । चुनिखेलमा रहेको झन्डै १ करोड २ लाख लागतमा निर्मित स्वास्थ्य चौकी भवन निर्माण तथा स्वास्थ्य सामग्री खरिदमा समेत योगदान पु-याएका उनले योजना सम्पन्न गर्न आफूले व्यक्तिगत तवरमा समेत लाखौं खर्च गरेको बताउँछन् । उक्त स्वास्थ्य चौकीको उद्घाटन तत्कालीन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरेका थिए ।

मिसन ८३ मा सक्रिय

थापा हालका नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं-४ का संघीय सांसद गगनकुमार थापालाई आगामी २०८३ सालमा नेपाली कांग्रेसको सभापति बनाउने अभियानमा सक्रिय छन् । यसअन्तर्गत उनी निरन्तर गगन थापाको निकट भएर सक्रिय रहेको बताउँछन् । यसैअन्तर्गत नेपाली कांग्रेसका देशभरका जिल्ला सचिवहरुको १५४ जनाको नेटवर्क बनाएर काम भइरहेको र त्यसमा उनी समन्वयकर्ताको भूमिकामा रहेको बताउँछन् । त्यही अभियानअन्तर्गत विभिन्न जिल्लामा पार्टी संगठन निर्माण अभियानमा निरन्तर सक्रिय रहेको उनको भनाइ छ।

गत निर्वाचनको समीक्षा

थापा नेपाली कांग्रेसका तर्फबाट गत २०७९ सालको स्थानीय तहको निर्वाचनमा बुढानीलकण्ठ नगर प्रमुखको उम्मेदवारको सशक्त प्रतिस्पर्धी रहेका थिए । तर तत्कालीन अवस्थामा नगर प्रमुखको टिकट भने विनोद चालिसेले प्राप्त गरे ।

गत निर्वाचनमा नेपाली कांग्रेसले चुनाव जित्ने ठूलो मौका गुमाउनुपरेको उनको विश्लेषण छ । तत्कालीन अवस्थामा कम्युनिष्टहरु तीन टुक्रामा विभाजन भएका र एमालेको भोट पनि व्यापक रुपमा बाँडिएको अवस्थामा समेत चुनाव हार्नु दुखद् रहेको उनको ठम्याइ छ ।

स्थानीय तहको निर्वाचनका बेला नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रसँग गठबन्धन गर्न नसक्नु र पार्टीभित्र आन्तरिक एकता मजबुत गर्न समेत तत्कालीन नेतृत्वले नसक्नु ठूलो कमजोरी रहेको उनको तर्क छ । निर्वाचनका बेला आफूहरुसँग छलफल, परामर्श एवं रणनीति तय गर्न समेत कन्जुस्याइँ गरिएकोप्रति थापा गुनासो गर्छन् ।

यद्यपि थापा २०७९ सालको प्रदेश सभा निर्वाचनमा खस आर्यतर्फबाट दुई नम्बरमा समानुपातिक उम्मेदवार रहेका थिए तर उनी प्रदेश सभा सदस्य बन्न पाएनन् ।

आगामी योजना

राष्ट्रपाटीसँग कुरा गर्दै थापाले आफ्नो आगामी योजनाहरुका बारेमा समेत चर्चा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं–४ का संघीय सांसद गगनकुमार थापालाई आगामी २०८३ सालमा नेपाली कांग्रेसको सभापति बनाउने र २०८४ सालमा प्रधानमन्त्री बनाउने योजनामा रहेको उनी बताउँछन्।

मुख्य रुपमा २०८४ सालमा नेपाली कांग्रेसलाई  बुढानीलकण्ठ नगरपालिकाको नेतृत्वमा विजय गराउने मुख्य योजना थापाको छ । आगामि २०८४ सालमा हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाइ कुनै पनि हालतमा जित्नै पर्ने वाध्यता रहेको र हार्ने छुट नभएको उनको भनाइ छ। थापा भन्छन् – आगामि २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई जसरी पनि चुनाव जिताएरै छाड्ने मिसनमा म हिंडीरहेको छु।

(नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव इन्द्रबहादुर थापासँगको कुराकानीमा आधारित)


Published :जेष्ठ १८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media