“कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला”

राष्ट्रपाटी न्युज

२ श्रावण २०७९

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको दाबी गरेका छन् । सोमवार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि चारैतिरबाट विभिन्न लाञ्छना लगाइएको जिकिर गरे । उनले अहिले गभर्नरमाथि लाञ्छना लगाएर आर्थिक हिसावले मुलुकलाई कुशासन र दुर्घटनाको बाटोतिर लान खोजिएको बताए । उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आमजनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको आरोप उनले लगाए ।

उनले भने, ‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही हो । हिजो उहाँहरुले हटाउने प्रयास गर्नुभएकै हो । जम्माजम्मी कारण के ? कसले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट, श्रोत देखाउनुस् भन्यो श्रोत देखाउन सक्दैन । १७/१८ वटा फेक कम्पनीहरु छन् । अमेरिकामा सोध्दा ती कम्पनीहरुको कुनै पनि महत्व छैन । यो श्रोत गलत हो भन्छ, मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नु । त्यो गर्न नमाने बापत् राष्ट्र बैंकमाथि हमला भएको हो । अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् ।

उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रुपमा विचौलियाहरुको नियन्त्रणमा जान थालेको बताए । उनले अहिलेको गठबन्धन सरकारलाई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तिय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए । उपमहासचिव ज्ञवालीले अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उल्लेख गरे । उनले हातहतियार सम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा उल्लेखित वाक्य र व्यक्तिको दुःशासहसले नै अहिलेको गठबन्धनको तस्बीर देखाउने बताए ।

उनले भ्रष्टाचारलाई, कालाबजारीयालाई, कमिसनतन्त्रलाई संरक्षण गर्ने, जुन एउटा खतरनाक वित्तिय गठबन्धन भइरहेको छ, मुलुकका निम्ति असाध्यै डरलाग्दो भएको बताए ।

उपमहासचिव ज्ञवालीले सरकार विद्युतीय सवारीसाधन मुख्य शहरमा चलाउने कुरामा गैरजिम्मेवार भएर बसिरहेको आरोप लगाए । उनले सरकारले पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताए । उनले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराईमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट गरे ।


Published :२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media