निर्वाचनका लागि हुने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्छः गगन थापा

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

चितवन । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तालमेल केका लागि पहिले नै टुङ्गो लाग्नुपर्ने बताए । महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताए ।

उनले भने, “तालमेल केका लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ।” तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे । आगामी निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए ।

निर्वाचनअघि गरिने तालमेल दलहरुका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए । उनले भने, “यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।”

न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उनको भनाइ छ।

“तालमेलमा रहेका दलहरुमा खाली सिटको बाँडफाँट हुने । निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसके पछि आआफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्देरहेछ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको २०७४ सालको निर्वाचनबाट देखेका छौँ ।” महामन्त्री थापाले भने, “ निर्वाचनमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।”

नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उनले बताए । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उनको भनाइ थियो ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media