निर्वाचनको मिति चाँडै घोषणा हुन्छः ‍प्रधानमन्त्री देउवा

राष्ट्रपाटी न्युज

६ श्रावण २०७९

बागमती । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन् ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए। प्रधानमन्त्री देउवाले भने, “सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ। निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस्। निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।”

उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगत्ले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए। प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजितरूपमै लाञ्छना लगाउनेक्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे ।

उनले भने, “परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूूर्ण रहेको छ ।” कोभिड–१९ मा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने उल्लेख गरे ।

लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए ।


Published :६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media