गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने माधव नेपालको चेतावनी

राष्ट्रपाटी न्युज

७ श्रावण २०७९

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका छन् । आगामी मंसीर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका हुन् ।

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरुले आफूहरुलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाइ थियो । उनले आगामी आमनिर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबीसमेत गरे ।

स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौं लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले तपाईहरुलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं । अब मंसिर महिनामा चुनाव आउँदैछ। सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ। अब कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने? अब डम्फू बजाउने होइन । अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो।’ अध्यक्ष नेपालले छोटो समयमै आफ्नो पार्टीले सुदृढ भएर नयाँ कीर्तिमान कायम गरेको जिकिरसमेत गरे ।

 


Published :७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media