गठबन्धन निश्चित स्वार्थ समूहको झुण्डः शंकर पोखरेल

राष्ट्रपाटी न्युज

७ श्रावण २०७९

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार एमालेले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताए । ‘अहिले माओवादी र एकीकृत समाजवादीमा रहेका साथीहरु प्रचण्ड, माधवको नेतृत्वमा होइन, कमरेड ओलीको नेतृत्वमा आउनुहोस्’ उनले भने ।

नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताए । एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटौ नै नेपाली राजनीतिको बाटो भएको उनको तर्क छ । ‘त्योभित्र पनि जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा हुनुहुन्छ । उहाँहरुको बाटो छैन’ पोखरेलले भने ।

प्रचण्ड र माधव नेपालले देउवाको बाटोमा हिँडेर एमालेको नेतृत्वमाथि आक्रमण गरिरहेको आरोप समेत लगाए । ‘गठबन्धन नामको निश्चित स्वार्थ समूहको झुण्ड छ । यसको एकमात्र उद्देश्य भनेको नेकपा एमालेलाई रोक्नेमात्रै हो’ पोखरेलले भने ।

‘एमालेले कर्णाली सरकारको नेतृत्व गरेको भए यहाँको रूपरंग फेरिन्थ्यो । जनताले संघीयताको फाइदा लिन सक्थे । अब एमालेले नेतृत्व लिएर समृद्ध कर्णाली निर्माणमा लाग्नुपर्छ’, उनले भने ।


Published :७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media