डब्लुबिसि मोई थाईले बुनपामा राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने

राष्ट्रपाटी न्युज

११ श्रावण २०७९

काठमाडौँ । डब्लुबिसि मोई थाई नेपालले बुढानीलकण्ठ नगरपालिकामा दोस्रोपटक डब्लुबिसि राष्ट्रिय च्याम्पियन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुढानीलकण्ठ वडा नं ०५ डाँडागाउँमा मोई थाई खेलको विकास एवं खेल संस्कारको प्रवर्धन गर्दै खेलाडीलाई प्रशिक्षण गरी सीप प्रस्फुटन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना भएको ‘डब्लुबिसि मोई थाई नेपालले गल्फुटारस्थित अमुप्रस्थ व्याङ्कवेट हलमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

बुधबार एक पत्रकार सम्मेलनमार्फत् फाइट शनिबार ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । जसअन्तर्गत ‘मेन इभेन्ट’, ‘को-मेन इभेन्ट’ का साथै अन्य ४ किसिमका फाइटहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

“Fight to Empower Women” मूल नाराका साथ महिला सशक्तीकरण र उत्साहलाई पहिलो प्राथमिकता दिई खेल सञ्चालन हुन लागेको अध्यक्ष राजु राईले जानकारी दिएका छन् ।

यसपालिको ‘मेन इभेन्ट’ पनि महिला समूहका तेजी गुरुङ र करिस्मा कार्कीबीच हुने भएको छ । मेन इभेन्ट फाइटका विजेतालाई डब्लुबिसि च्याम्पियनसिप बेल्ट, मेडल र नगद ८० हजार नगदसहित सम्मान गरिने राईले बताए । उप-विजेताले भने २४ हजार नगदसहित मेडल पाउने भएका छन् ।

यस्तै ‘को-मेन इभेन्ट’ मा सन्तोष खत्री र सोनाम छिरिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्टका विजेताले नगद ३० हजार र उपविजेताले १५ हजारसहित मेड प्राप्त गर्नेछन् ।

साथै ‘लिड कार्ड फाइट’ खेलहरुमा सुस्मिता तामाङ र सुरक्षा, बुरथोङ राई र आयुश कायस्थ, वडाकाजी कमल थापा र करण थापा, ज्ञानेन्द्र सिंह र  शिरिष भुजुबीच प्रतिस्पर्धा हुने जनाइएको छ । ‘लिड कार्ड फाइट’ का विजेताले नगद २० हजार पाउनेछन् भने उपविजेताले १० हजार प्राप्त गर्नेछन् ।

डब्लुबिसि मोई थाई नेपालले खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि तयारी गरिरहेको सचिव दिपक तामाङले जानकारी दिए । यो प्रतियोगिता पनि सोही तयारीको एक महत्वपूर्ण शृङ्खला भएको उनले बताए ।

 

डब्लुबिसि भनेको के हो ?

ड्ब्लुबिसि अर्थात वर्ल्ड बक्सिङ् परिषद मोइ थाई  सन् २००४ मा थाईल्याण्डको बैंककबाट विश्व बक्सिङ परिषदअर्न्तगत बिश्वभर प्रोफेसनल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एक मुनाफारहित संस्था हो । यस संस्थाको प्रधान कार्यालय थाइल्यान्डको बैङ्ककमा छ । यस खेलको सम्पूर्ण नीति नियमहरु (बोर्ड अफ स्पोर्ट ) खेल प्राधिकरण थाइल्याण्डले नै निर्धारण गर्ने गरेको छ । नेपालमा यस संस्थाको स्थापना २७ अगष्ट २०२१ मा बुढानीलकण्ठ नगरपालिका वडा नं. ०५ डाँडागाउँमा भएको हो ।

डब्लुबिसि मोइ थाई नेपालका उद्देश्यहरुः

– नेपालमा यस मोई थाईको विकास एवं मोइ थाई खेल संस्कारको प्रवर्धन गर्ने ।

– नेपालभर यस डब्लूबिसि मोइ थाई शाखाहरुको स्थापना गर्ने ।

– नेपालका खेलाडी तथा युवाहरुलाई यस खेलप्रति प्रेरित गर्ने र यस खेलका फाइदाहरुबारे जानकारी गराउने ।

– वार्षिक कार्यक्रम तालिकासहितको भित्तेपात्रो प्रकाशित गर्ने ।

– यस संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने ।

– अन्तर्राष्ट्रिय मान्यतासहितको डब्लुबिसि मोई थाइको बेल्ट, मेडल तथा प्रमाणपत्रहरु बनाउने तथा विजेता खेलाडीहरुलाई वितरण गर्ने ।

 


Published :११ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media