काँग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश 

राष्ट्रपाटी न्युज

१८ श्रावण २०७९

रामेछाप । नेपाली काँग्रेस रामेछापका क्षेत्रीय प्रतिनिधि रमेश लामिछाने र बालकुमार खत्री तथा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार भगतसिंह लामासहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले रामेछापको मंगलबार मन्थलीमा आयोजना गरिएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा काँग्रेस र माओवादी परित्याग गरेर ती नेता\ कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् ।

उनीरूलाई उपमहासचिव ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य अधिकारी लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

सोही अवसरमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीले मंगलबार जिल्ला स्तरीय संगठन सृदृढीकरण तथा शुद्धीकरण अन्तर्गत प्रशिक्षण कार्यक्रममा सम्पन्न गरेको छ ।

जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, सल्लाहकार परिषदका सदस्यहरू, नगर तथा गाउँ कमिटी पदाधिकारीहरू, वडा कमिटीका अध्यक्ष, निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरूलाई प्रशिक्षण दिइएको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती  प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, सहइन्चार्ज शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल र केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज माधव ढुङ्गेल लगायतले प्रशिक्षण दिएका थिए ।

सो प्रशिक्षण कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले फरक–फरक दिशामा फर्किएका पार्टीहरू मिलेर बनेको अपवित्र गठबन्धन निरन्तर एमालेका विरुद्धमा रहेको बताए ।

राम्रो काम गरिरहेको एमालेलाई सरकारबाट हटाउन सङ्घीयता नचाहने, प्रदेश बढाइनुपर्छ, संसदीय व्यवस्था स्वीकार छैन भन्ने र संसदीय व्यवस्थाको विकल्पै छैन भन्ने पार्टीको अपवित्र गठबन्धन बनेको र यो गठबन्धन निरन्तर एमालेको विरुद्धमा रहेको उनको भनाइ थियो ।

उनले भने- “सङ्घीयता खारेजीको माग गर्ने राष्ट्रिय जनामोर्चा, १४ वटा प्रदेश बनाउनुपर्छ भन्ने जनता समाजवादी पार्टी यही गठबन्धनमा छन्, संसदीय व्यवस्थालाई स्वीकार गरिएको छैन भन्ने प्रचण्ड र संसदीय व्यवस्थाको विकल्प छैन भन्ने काँग्रेस एकै ठाउँमा छन्, दशतिर फर्किएका पार्टीहरूलाई एक ठाउँमा ल्याउन कुन काँटा किलाले जोडिदियो ?”

गठबन्धन मात्रै नभई अदालत, विदेशी शक्तिकेन्द्र र अरू विभिन्न संवैधानिक अङ्गहरू समेत एमालेको विरुद्धमा रहेको उनले बताए ।

एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले नेकपा (एमाले) प्रवेशको सिलसिला निरन्तर रहेको र जारी रहने बताए ।
नेता अधिकारीले नेपालमा एमाले भन्दा राम्रो पार्टी अरू कुनै नभएकाले एमाले प्रतिको आकर्षण यथावत् रहेको बताए ।

अधिकारीले अगाडि भने- कांग्रेस र माओवादी विचार नै नभएका पार्टी हुन् ।  अन्य पार्टी अस्तित्व नै जोगाउन नसक्ने अवस्थामा पुगिसकेको उनको भनाइ थियो ।

जनताको बहुदलीय जनवाद मौलिक कम्युनिष्ट विचार भएको उहाँले बताउनुभयो । जनताको बहुदलीय जनवादबाट एमाले मात्र होइन देश नै निर्देशित भएको उनको भनाइ थियो ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले विगतको निर्वाचनमा समयमा उम्मेदवार छान्न नसक्दा सोचे अनुसारको परिणाम आउन नसकेको बताए । नेता तामाङले अबका चुनावमा एमालेले समयमा नै उम्मेदवार घोषणा गरेर जाने बताए ।

एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले कम्युनिष्ट आन्दोलनमा लागेर एमालेमा लागेर के पाइयो भन्नेहरूलाई गणतन्त्रदेखि, राजनीतिक र नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान लगायतका उपलब्धि प्राप्त भएकोबारे बताउनुपर्ने विचार व्यक्त गरेका थिए ।


Published :१८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media